सुपरस्टार अनमोल केसी जोडिएका हरेक एक फिल्मको दर्शकमाझ व्यग्र प्रतिक्षा हुने गरेको छ । बक्सअफिसमा एकपछि अर्को सुपरहिट फिल्म दिइरहेका उनी गएको वर्ष रिलिज भएको फिल्म 'कृ' पछि यसवर्ष 'क्याप्टेन' मार्फत् पर्दामा फर्किँदैछन् । यो फिल्ममा उनले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् ।
जिल्ला स्तरिय हुँदै राष्ट्रिय फुटबल टिमको क्याप्टेन बनेको एक युवकको संघर्षको कथा फिल्मले भन्छ । यसलाई 'ऐश्वर्य' फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’ को छायांकन सकिएको झन्डै एक महिना बढी भइसकेको छ । अनमोलका प्रायः फिल्मको रिलिज डेट पोस्टरमार्फत् घोषणा गरिदै आएको छ ।
तर, उक्त फिल्मको पोस्टरमा पनि रिलिज डेट राखिएन । भदौ ८, भदौ २९, असोज ५, कात्तिक १६ र मंसिर २१ मा फिल्म रिलिज हुने ठूलै चर्चा चल्यो । निर्माता भुवन केसीले फिल्मको हाइप बनाउन मिडियामा विभिन्न मिति बताउँदै हिँडेपनि अझैसम्म आधिकारिक रुपमा रिलिज डेट घोषणा गरिएको छैन ।
.jpg)
यो फिल्ममा भिएफएक्सको अधिक प्रयोग हुनेछ । भिएफएक्स पूरा हुन ३ महिना समय लाग्ने खबर छ । भिएफएक्सकै कारण फिल्मको रिलिज अस्तव्यस्त बनेको स्रोत बताउँछ । वितरक मनोज राठीले फिल्मीखबरसँग कुरा गर्दै ‘क्याप्टेन’ मंसिरपछि र फागुनअघि रिलिज हुने बताए ।
उनले भने, 'भिएफएक्सका कारण हामी अड्किएका हौं । केही दिनमा भिएफएक्स गर्ने टिमले हामीलाई डेट दिँदैछ । त्यसलाई नै मध्यनजर गरेर हामी फिल्मको रिलिज डेट घोषणा गर्नेछौं ।' पटक-पटक रिलिज डेट पोस्टपोन्ड हुँदा गएको वर्ष अनमोलको फिल्म 'कृ' को व्यापारमा ठूलो असर पुगेको थियो ।
यसकारण वितरक राठी हतारमा ‘क्याप्टेन’ को रिलिज घोषणा गरेर जोखिम नमोल्ने मनस्थितिमा छन् । फिल्म वितरणका लागि उनले महँगो रकम निर्मातालाई निर्माण अघि नै बुझाइसकेका छन् । फिल्ममा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् ।
‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । सामिप्यराज तिमल्सिनाको कथा, सुदीप बरालको छायांकन, चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन फिल्ममा छ ।

