
शुक्रवारबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘कथा काठमाण्डू’ ले घरेलु बजारमा सुखद कलेक्सन गरिरहेको छ । अपेक्षाकृत व्यापार गर्न नसकेपनि फिल्मको 'वर्ड अफ माउथ' राम्रो रहेको निर्देशक संगीता श्रेष्ठले बताएकी छन् । दर्शकको चाप सिंगलभन्दा मल्टिप्लेक्स पर्दामा बढी छ ।
.jpg)
आइतबार राजधानीको कुमारी हलमा फिल्मको स्पेशल शो राखिएको थियो । पत्रकार र चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको शोमा फिल्मले सुन्न लायक प्रतिक्रिया पाएको छ । फिल्म हेर्न पुगेका अधिकांशले कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
.jpg)
पूजा शर्मा, बर्षा राउत, केदार घिमिरे, जितु नेपाल, दीपकराज गिरी, अनुभव रेग्मी, आकाश अधिकारीलगायतका चलचित्रकर्मीहरुले फिल्मको तारिफ गरे । अभिनेत्री पूजा, निर्देशक संगीताको मिहिनेत र अभिनेत्री प्रियंकाको अभिनयको तारिफ गरेर थाकिनन् । अभिनेत्री बर्षाले राम्रो लागेर आफूले दुईपटक हेरिसकेको बताइन् ।
.jpg)
फिल्ममा राजधानीमा हुने तीन फरक-फरक कथा बुनिएको छ । दर्शकले तीनमध्ये प्रियंका र अभिनेता प्रमोद अग्रहरीको कथालाई औधि रुचाएका छन् । फिल्म हेर्नेले प्रमोदको कामको तारिफ गरेका छन् । फिल्मलाई समीक्षकले भने राम्रो रेटिङ दिएका छैनन् । दर्शकको एक वर्गले भने टेलिसिरियल भनेका छन् ।
.jpg)
यो फिल्ममा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको पनि प्रमुख भूमिका छ । फिल्मको कथा निर्देशक श्रेष्ठ आफैंले लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ ।

