अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको सम्बन्धलाई लिएर अनविज्ञ अब सायदै होलान् । उनीहरुको इन्गेजमेन्ट समेत भइसकेको छ । अर्को वर्षको असारमा बिहे गर्ने यो जोडीको तयारी छ ।
प्रेम समबन्धमा रहेको खबर बाहिरिएदेखि धेरै मेकर्सले प्रियंका र आयुष्मानलाई लिएर फिल्म निर्माण गर्ने सोच बनाइरहेका छन् । केही फिल्म यी दुईले सँगै पनि गरे । हाल यो कपलले अभिनय गरेको फिल्म 'कथा काठमाण्डू' प्रदर्शन भइरहेको छ ।
फेरि एकपटक यो रियल जोडीलाई एक नयाँ फिल्मलाई देख्न पाइने भएको छ । योगेश घिमिरेले निर्देशन गर्ने फिल्म ‘राधा २’ मा प्रियंकाको जोडी आफ्नै प्रेमी आयुष्मानसँग बाँधिने कन्फर्म भएको छ । यो कुराको पुष्टि निर्देशक स्वयमले गरेका छन् ।
कथाको मागअनुसार आयुष्मानलाई फिल्ममा लिएको उनले बताए । 'यो म्यूजिकल लभस्टोरी फिल्म हो । उहाँहरु प्रेममा हुनुहुन्छ भनेर जोडी बाँधेका होइनौं । म्यूजिकको रेन्स आयुष्मानभन्दा मैले अरुमा देखिनँ । यसैले उहाँलाई लिएका हौं', निर्देशक घिमिरेले भने ।
'राधा' को पहिलो श्रृंखलामा अभिनेत्री सञ्चिता लुईँटेल र जीवन लुइँटेल प्रमुख भूमिकामा थिए । कथाले नयाँ पात्रको डिमान्ड गरेका कारण पुरानो जोडीलाई दोहोर्याउन नसकेको निर्देशकको भनाई छ । ‘राधा २’ को कात्तिक ८ गतेबाट छायांकन सुरु हुँदैछ ।

