फिल्म बनाएर मात्र अब दर्शकलाई हलसम्म तान्न असम्भव छ । दर्शकलाई फिल्मप्रति आकर्षित गर्न गीत-संगीतसँगै प्रचार-प्रसार पनि बलियो हुन आवश्यक छ । प्रचारमा पनि अब नयाँ शैली अपनाउनु पर्ने हुन्छ, जसले दर्शकको ध्यान सजिलै खिच्न सकोस् । प्रचार-प्रसार बलियो भए फिल्मको इनिसियल व्यापार राम्रो भएका उदारहण अचेल प्रशस्तै भेटिन्छ ।
यस वर्ष प्रदर्शनमा आएका तीन दर्जन बढी फिल्ममध्ये 'नाईं नभन्नू ल ५' ले मात्र सफलताको झन्डा फहराउन सफल हुँदा रिलिजको तरखरमा रहेका धेरै फिल्म मेकर्सलाई हतास बनाएको छ । खडेरी लागेको फिल्मको व्यापारमा अब असोज २४ अर्थात् घटस्थापनाको दिन रिलिज हुने ‘छक्का पञ्जा ३’ ले आशाको बत्ति बाल्ने धेरैको विश्वास छ ।
यसका दुई सिरिजले घरेलु बजारमा कलेक्सनको एक रेकर्ड नै बनाएका छन् । नेपाली फिल्मको इतिहासमा सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड 'छक्का पञ्जा' को नाममा छ । दोस्रो श्रृंखलाले भने पहिलोको तुलनामा कम व्यापार गरेको थियो । नाम नै एक ब्रान्ड भएका कारण 'छक्का पञ्जा ३' ले घरेलु बजारमा राम्रो पैसा छाप्ने फिल्मी पण्डितहरुको पूर्वआँकलन छ ।
तर, यसपटक फिल्मलाई सहज भने छैन । फिल्म रिलिजको एक सातामा अर्को प्रतिक्षीत फिल्म 'जय भोले' रिलिज हुँदैछ । केही समय अगाडिसम्म दुबै फिल्म एकै मितिमा भिड्ने चर्चाले सिनेवृतमा ठूलै हलचल ल्याएको थियो । अन्ततः आपसी समझदारीमा दुई फिल्म एक हप्ताको अन्तरमा रिलिज हुँदैछन् ।

दुबै फिल्म कमेडी जनराका भएका कारण 'छक्का पञ्जा ३' र 'जय भोले' एकअर्काका लागि 'थ्रेट' हुन सक्छन् । 'जय भोले' टिम अहिले कलेज क्याम्पियनमा रहँदा 'छक्का पञ्जा' टिमले पनि विभिन्न कार्यक्रमहरुमा उपस्थिति जनाएर फिल्मको प्रचार गर्न छाडेको छैन । प्रचारबाट फिल्मको हाइप निर्माण गर्न दुबै फिल्मका मेकर्सको राम्रै कसरत सुरु भएको छ ।
केही दिन अगाडि 'छक्का पञ्जा ३' का कलाकार त्रय दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले झगडा गरेको एक प्रांक भिडियो सार्वजनिक भएको थियो । निर्देशक दीपाश्री निरौलाले प्रांक भिडियोबाट फिल्मको प्रचारमा नयाँ शैलीको सुरुवात गरेको बताएकी छन् ।
प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा फिल्मका कलाकारहरु प्रचार-प्रसारमा दौडिन थालेका छन् । केही दिनदेखि निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरी विभिन्न उद्घाटन कार्यक्रममा आफ्नो उपस्थिति जनाउँदै आएका छन् । शुक्रवार दुबैले संयूक्त रुपमा मैतिदेवीमा सञ्चालनमा आएको केकेएफसीको उद्घाटन गरे ।
यस्तै शनिबार दीपक-दीपाले अन्तर्राष्ट्रिय रुपमा स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको नयाँ सलूनको रिवन काटे । उक्त सलून काठमाडौंको सिटी सेन्टरमा सञ्चालनमा ल्याएको हो । उद्घाटन समारोहमा उपस्थिति हुँदा पनि फिल्मको प्रचारमा ठूलो फाइदा पुग्ने टिमको विश्वास छ ।

