फूलापती अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको मल्टिस्टारर फिल्म ‘जय भोले’ टिम केही दिनदेखि स्कुल तथा कलेजका विद्यार्थी फकाउने अभियानमा छ । राजधानीमा रहेका स्कुल-कलेजका विद्यार्थीहरुसँग यस फिल्मका कलाकार तथा निर्देशकले प्रत्यक्ष भेटघाटसँगै साक्षात्कार गर्दै आएका छन् ।
अभिनता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता निर्देशक अशोक शर्मालगायतको टिमले अहिले स्कुल तथा कलेजमा पुगेर विद्यार्थीहरुसँग साक्षात्कार गर्दै आएको छ ।
‘जय भोले’ टिमले गएको तीन दिनमा लिटिल एञ्जल हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवनलगायत विभिन्न कलेज तथा स्कुलमा विधार्थीहरुसँग साक्षात्कार गरिसकेका छन् ।
आईतबारबाट तीन दिनसम्म अरु काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजका विद्यार्थीहरुलाई फिल्मको विषयमा जानकारी दिइने निर्देशक शर्माले बताए । स्कुल-कलेज यात्राका क्रममा फिल्मबारे विधार्थीहरु हाजिर जवाफ कार्यक्रम सहित विभिन्न पुरस्कार पनि प्रदान गरिँदै आएको छ ।
विधार्थीहरुसँग स्कुल कलेजमा 'जय भोले सेल्फी' पनि त्यत्तिकै लोकप्रिय हुँदै अएको यसका निर्देशक शर्मा बताउँछन् । उनले दशैंमा सबै स्कुल तथा कलेज विदा हुने भएकाले बिधार्थीहरुले आफूहरुसँग यो फिल्म हेर्ने प्रतिवद्धता जनाएको बताए ।
यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

