Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘इन्टु मिन्टु लण्डनमा’ को कलेक्सन मोफसलमा राम्रो

फिल्मीखबर, काठमाण्डौ, 2018/09/29
शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को कमाईको रफ्तार अझै रोकिएको छैन । दोस्रो सातामा पनि फिल्म हेर्ने दर्शकको भीड राम्रो देखिएको छ । दर्शकबाट राम्रो फिडब्याक मिलेको फिल्मलाई समीक्षकले भने राम्रो रेटिङ दिएका छैनन् । 
 
प्रदर्शनको एक हप्तामा घरेलु बजारबाट ३ करोड ४० लाख ग्रस कलेक्सन गरेको फिल्मलाई युवापुस्ताका दर्शकले बढी रुचाएका छन् । यो फिल्म रिलिज अगावै गीतसंगीत, स्टारकास्ट र लोभलाग्दो मेकिङका कारण चर्चामा थियो । इनिसियल बक्सअफिस आक्रामक हुनुको पछाडि यसको सबैभन्दा ठूलो योगदान छ । 
 
आइतवारबाट फिल्मको कलेक्सन केही घटेको भएपनि उदेकलाग्दो भने छैन । फिल्मले मेजर स्टेशनका सिंगल पर्दा र मल्टिप्लेक्समा राम्रो कलेक्सन गरिरहेको छ । मोफसल वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ को कलेक्सन पहिलो हप्ता राजधानीभन्दा बाहिर १० प्रतिशतले बढी रहेको बताए । 
 
दोस्रो साताको सुरुवातमा पनि फिल्म मोफसलमा नै अगाडि छ । उनका अनुसार, शनिबार पनि देशका प्रमुख शहरमा फिल्मले हाउसफुल दर्शक पाएको छ । निर्माण कम्पनी आई कोर फिल्मस् स्वयमले यो फिल्मलाई उपत्यकामा वितरण गरेको हो । निर्माता प्रज्ज्वल समशेर जबराले शनिबार राजधानीका अधिकांश मल्टिप्लेक्स र सिंगल स्कृनमा दर्शकको उत्साहजनक भीड देखिएको बताए । 
 
 
उनले फिल्मको आउटलुकका कारण सिंगलभन्दा मल्टिप्लेक्समा दर्शकको चाप बढी रहेको स्वीकार गरे । उनी भन्छन्, 'सबै मेकर्सको चाहना पनि त हुन्छ आफ्नो फिल्मले मल्टिप्लेक्समा राम्रो कलेक्सन गरोस् । ‘इन्टु मिन्टु लण्डनमा’ हेर्ने दर्शक सिंगल थिएटरमा पनि कम भने छैनन् ।' 
 
राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्ससहित एफक्यूब, क्यूज, विएसआर, सिडिसीलगायतका मल्टिप्लेक्समा पनि शनिबार फिल्मले राम्रो कमाई गरेको निर्माता जबराको भनाई छ । घरेलु बजारबाट उक्त फिल्मले लगानी सुरक्षित गर्न ६ करोडमाथि कलेक्सन गर्नुपर्ने हुन्छ । यसका लागि अझै लामो रेसको घोडा बन्न बाँकी छ । 
 
यस वर्ष प्रदर्शनमा आएका तीन दर्जन बढी फिल्ममध्ये 'नाईँ नभन्नू ल ५' मात्र हिट फिल्मको सूचीमा दरिएको छ । बाँकी कुनै फिल्मले सफलताको झन्ड फहराउन सकेनन् । 'रामकहानी' ले केही आशातित व्यापार गरेपनि सफलता चुम्नबाट चुक्यो । अब ‘इन्टु मिन्टु लण्डनमा’ बक्सअफिसमा शक्तिशाली देखिएको छ । 
 
वर्षको दोस्रो हिट फिल्ममा आफ्नो नाम लेखाउन सक्छ वा सक्दैन ? यो भने हेर्न बाँकी छ । यसलाई लेडी डाइरेक्टर रेनाशा वान्तवा राईले निर्देशन गरेकी हुन् । उनको यो पहिलो निर्देशकीय फिल्म हो । फिल्ममा सारुक ताम्राकारको पनि लिड रोल छ । 
 
शनिबार बिहानैदेखि निर्देशक राई र निर्माता जबरासँगै अभिनेता द्वय धिरज र सारुकले राजधानीका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरे । टिमसँगको शितयुद्धका कारण अभिनेत्री साम्राज्ञी भने पुगिनन् । हल पुग्दा दुई अभिनेतासँग सेल्फी खिच्न दर्शकको भीड लागेको थियो । 
Most Visited News (monthly)