झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन् निरुता सिंह । एकसमय उनी निर्विकल्प अभिनेत्री थिइन् । तर, समय सधैं एकनास रहेन । नयाँ अनुहारको आगमनसँगै उनी पर्दाबाट टाढा हुँदै गइन् ।
'दर्पण छाँया', 'लहना', 'बन्धकी', 'अजम्बरी नाता' लगायतका सुपरहिट फिल्मकी अभिनेत्री सिंह लामो समयदेखि पर्दामा देखिएकी थिइनन् । झण्डै ८/९ वर्षदेखि उनी मुम्बईमा बस्दै आइरहेकी छन् । 'द गेम' बक्सअफिसमा असफल भएपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन् ।
पटक-पटक नेपाल आउँदा राम्रो भूमिका पाए फिल्ममा कमब्याक गर्न तयार रहेको बताउँथिन् उनी । तर, निरुतालाई लिड रोलमा लिएर निर्माताले जोखिम उठाउन चाहेनन् । दिदी वा आमाको भूमिका अप्रोज गर्न पनि मेकर्सले आँट गरेनन् ।
यस्तैमा यस वर्ष एनएफडिसी अवार्डमा भाग लिन काठमाडौं आएको मौका छोप्दै निर्देशक विकासराज आचार्यले उनलाई 'नाइँ नभन्नू ल ५' अप्रोज गरे । भूमिका छोटो भएपनि उनलाई दमदार लाग्यो । दुई दिन नेपाल बसाई लम्बाएर उनले आफ्नो भागको सिन सुट गरिन् ।
.jpg)
यसमा उनले बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिका निर्वाहा गरेकी छन् । फिल्ममा उनको भूमिकालाई अधिकांशले मुक्तकण्ठले प्रशंसा गरे । निरुता पनि कमब्याक सफल भएकोमा दंग छिन् । यो फिल्मले उनलाई पुनः नेपाली फिल्ममा भित्राएन मात्र व्यस्त पनि बनाएको छ ।
उनी चाँडै मह सञ्चारको फिल्म 'दाल भात तरकारी' गर्दैछिन् । यसमा उनको जोडी अभिनेता हरिवंश आचार्यसँग बाँधिएको छ । केही हप्तामा छायांकन सुरु हुने फिल्मका लागि उनी चाँडै नेपाल ओर्लिदैछिन् । वान लाइन स्टोरी सुन्ने वितिक्कै उनी उक्त फिल्म गर्न राजी भएको बताइन्छ ।
योसँगै उनको हातमा अर्को पनि फिल्म छ । युवा स्टार प्रदीप खड्काको लिड रोल रहने फिल्म 'लभ स्टेशन' मा पनि उनको अभिनय रहने निर्माण टिमबाट जानकारी प्राप्त छ । यस फिल्ममा भने उनको भूमिका खुलाइएको छैन ।
वर्षौदेखि पर्दाबाट टाढा रहेकी उनी अब अभिनयलाई पनि साथसाथ लैजाने सोचमा छिन् । 'नाइँ नभन्नू ल ५' मा आमाको भूमिका निर्वाहा गरेपछि निर्माता/निर्देशकलाई फिल्म अप्रोज गर्न धेरै सहज भएको छ । निरुता स्क्रिप्ट चित्त बुझे जुनसुकै भूमिका निर्वाहा गर्न तयार रहेको बताउँछिन् ।
पुराना अभिनेता-अभिनेत्री कमब्याकपछि स्क्रिप्ट छनौटमा चुजी हुने नगरेको आरोप लाग्दै आइरहेको छ । पैसाको लोभमा जतिपनि फिल्म र जस्तोसुकै भूमिका गर्न तयार हुने गरेका छन् । निरुता अपवाद बन्न सक्लिन् या नसक्लिन् ? यो भने हेर्न बाँकी छ ।

