कुनै समय दर्शकलाई नयाँ नेपाली फिल्म हेर्न हलसम्म पुग्नुको अरु विकल्प थिएन । तर, आज समय फेरिएको छ । दर्शक अब हल होइन घरमा बसेर युट्युबमा नयाँ फिल्मको प्रतिक्षा गर्न थालेका छन् । यसले हलको व्यापारमा ठूलो गिरावट ल्याउन थालेको छ ।
हलबाट लगानी सुरक्षित नहुने भइपछि निर्माताले महँगो डिजिटल राइ्टसको लोभमा फिल्म बिक्री गर्दै आइरहेका छन् । उता ६ महिनामा नै फिल्म युट्युबमा आउने हुँदा किन पैसा तिरेर नेपाली फिल्म हेर्ने ? भन्ने सोचले दर्शकमा जरा गाड्न थालेको छ ।
मेकर्सलाई आफ्नो फिल्म जति मुल्यमा पनि बेच्न र युट्युबमा रिलिज गर्न पाउने अधिकार छ । तर, हलबाट उत्रिएको केही हप्तामा नै फिल्म युट्युबमा रिलिज हुँदा यसले नेपाली फिल्मको व्यापारमा दिर्घकालिन प्रभाव पार्ने देखिन्छ । अचेल यस विषयमा बहस पनि सुरु भएको छ ।
हाल प्रदर्शनरत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ टिमले फिल्मलाई युट्युबमा नल्याउने घोषणा गरेको छ । निर्देशक रेनाशा वान्तवा राईले फिल्मलाई भिडियो साझेदारी साइट नेटफिक्समा ल्याउने तयारी भइरहेको बताइन् । युट्युब रिलिजले गर्दा फिल्मको व्यापार कम भइरहेको उनको तर्क छ ।
उनले भनिन्, 'हामी यूट्युबभन्दा नेटफिक्स जस्ता भिडियो साझेदारी साइटमा आउन चाहन्छौं । ६-६ महिनामा फिल्म युट्युबमा रिलिज हुँदा हलको व्यापारलाई धेरै कम गरिरहेको छ । यही कारणले फिल्म यूट्युबमा रिलिज नगर्न लागेका हौं ।'
शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिरज मगर प्रमुख भूमिकामा छन् । प्रज्वल सम्सेर जबरा र प्रभु सम्सेर जबरा निर्मित फिल्मले हालसम्म साढे ३ करोड ग्रस कलेक्सन गरिसकेको छ ।

