धिरज मगरको परिचय अब ब्लगरको रुपमा मात्र सीमित रहेन । उनी नेपाली फिल्मका अभिनेता बनेका छन्, त्यो पनि अबका 'मोस्ट डिमान्डेड' । उनी अभिनीत पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ शुक्रवारबाट दोस्रो हप्ता प्रवेश गर्दैछ ।
बुधवार साँझ उक्त फिल्मको राजधानीमा एक कार्यक्रमका बीच सक्सेस पार्टी गरिएको थियो । घरेलु बजारबाट प्रदर्शनको पाँच दिनमा ३ करोड ३० लाख ग्रस कलेक्सन गरेको जानकारी दिँदै निर्माता प्रज्ज्वल समशेर जबराले नयाँ फिल्म समेत घोषणा गरे ।
फिल्मको नाम 'आई एम 21' राखिएको छ । नेपालीमा यसको उल्था 'म २१ वर्ष' हुन्छ । यो फिल्ममा ‘इन्टु मिन्टु लण्डनमा’ का इन्टु अर्थात् धिरज मगर लिड रोलमा हुनेछ । निर्माण टिमले यसको औपचारिक जानकारी भने दिएको छैन ।
फिल्म रिलिज अगावै उनीसँग निर्माताले दुई फिल्म एकसाथ सम्झौता गरेका कारण 'आई एम 21' का अभिनेता उनी नै हुन् भन्नेमा शंका छैन । अभिनेत्री भने नयाँ हुने बताइएको छ । फिल्मको बाँकी जानकारी केही दिनमा एक कार्यक्रमका बीच दिइने निर्माता जबराले बताए ।
डेब्यु फिल्मले बक्सअफिसमा आक्रामक कलेक्सन गर्दैगर्दा अहिले धिरजमाथि ठूला मेकर्सको आँखा परेको छ । उनलाई फिल्ममा लिन निर्माता/निर्देशक लाइन बस्न थालेका छन् । तर, उनीमाथि सेन्डिकेट लागू भएको छ । अबको २ वर्ष उनले बाहिरी ब्यानरका फिल्म गर्न पाउने छैनन् ।
निर्देशक रेनाशा राई, धिरजमाथि कुनै सेन्डिकेट नलगाइएको बताउँछिन् । उनी भन्छिन्, 'राम्रो फिल्मबाट अफर आयो भने उसले गर्छ । हामी त अभिभावक हौं । राम्रो र नराम्रो मात्र भन्ने छौं ।' निर्माता प्रज्ज्वलले फिल्म रिलिजको ६ दिनमा धिरजलाई ६ फिल्मबाट अफर आएको बताए ।
मंगोलियन अनुहारका उनलाई धेरैले अहिलेका चल्तीका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई ‘रिप्लेस’ गर्ने ल्याकत भएको हिरोका रुपमा हेर्न थालेका छन् । डेब्यु फिल्ममा उनले गरेको अभिनयको अहिले मुक्तकण्ठले प्रशंसा भइरहेको छ ।

