पत्रकारितामा आफ्नो दरिलो परिचय बनाएका ऋषि धमला अब फिल्म निर्माणमा होमिएका छन् । उनले निर्माण गरेको फिल्म ‘अनुराग’ यही असोज १२ गतेबाट हलमा लाग्दैछ । यो फिल्मबाट उनकी श्रीमती एलिजा गौतमले अभिनयमा डेब्यु गरेकी छन् ।
आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर यतिबेला धमला स्वयम फिल्मको प्रचारमा दौडिरहेका छन् । आइतवार टिमसँग पोखरा पुगेर उनले पत्रकारसँग साक्षात्कार गरे । उनले फिल्मलाई हाँसो र रोदनको एउटा फुल प्याकेज भन्दै एकपटक सबैले हेर्नुपर्ने बताए ।
‘माया गर्नेहरुको लागि बनाइएको फिल्म हो यो,’ उनले भने, ‘जसले प्रेम गर्छ, त्यसले देशलाई पनि माया गर्छ ।’ फिल्म मनोरञ्जनको लागि मात्र नभई सन्देश मूलक पनि हुनुपर्नेमा उनले जोड दिए ।
अभिनेत्री एलिजाले बनिरहेका फिल्मभन्दा ‘अनुराग’ मा फरक पाउने दाबी गरिन् । उनले भनिन्, 'फिल्ममा म सिम्पल केटी अनुको भुमिकामा छु ।' निर्देशक सत्यराज चौलागाईँ फिल्मलाई सांगीतिक लभस्टोरी भन्न चाहन्छन् ।
.jpg)
‘अहिले संगीतप्रतिको मायालाई फिल्ममा बुनिएको छ,’ उनले भने,‘ आशा छ, मेरो डेब्यु फिल्मले दर्शकको मन जित्नेछ ।’ डेब्यु ब्वाई समुन्द्र पण्डितले ‘अनुराग’ बाट आफूले ठूलो अपेक्षा राखेको बताए ।
‘मैले गायकको भुमिका निर्वाह गरेको छु,’ उनले भने, ‘फिल्ममा गीतसंगीतलाई माया गर्ने संगीत प्रेमीको रुपमा मलाई देख्न सकिनेछ ।’ एरिका फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।
उक्त फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।
निर्देशक चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्मका निर्माता भरत गौतम र गीता भेटवाल हुन् । ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

