अभिनेता प्रदीप खड्कालाई लिएर फिल्म बनाउन चाहने निर्माता/निर्देशकको लाइन कति लामो होला ? दिनहुँ आउने फिल्मको प्रस्तावले नै यसको जवाफ दिन्छ । बढ्दो क्रेजले पनि उनतर्फ धेरै मेकर्सको आँखा छ । तर, एक फिल्मको हकमा निकै अनौठो भएको छ ।
करीब १ वर्ष अगाडि 'कृ' निर्माता सुबास गिरीले 'भैरवी' निर्माण गर्ने जानकारी मिडियामाझ गराएका थिए । दिनेश राउतको निर्देशनमा लिड हिरो प्रदीप खड्का हुने पक्का भएको थियो । हिरोइनमा साम्राज्ञी आरएल शाहसँग मौखिक समझदारी पनि भएको थियो ।
पछि फिल्म 'कायरा' गर्नुपर्ने कारण देखाउँदै साम्राज्ञीले उक्त फिल्म नगर्ने निर्णयमा पुगिन् । त्यसपछि निर्माता गिरीको नजर 'लिलिबिली' फेम्ड अभिनेत्री जसिता गुरुङतर्फ मोडियो । अब गेममा निकै ठूलो ट्विस्ट आएको छ । फिल्ममा लिड रोलमा अनुबन्ध भएका हिरो नै बाहिरिने सम्भावना बढेको छ ।
 (3)(1)(1)(1).jpg)
लगभग फिल्मबाट प्रदीप आउट हुने सम्भावनाको पल्ला भारी हुँदै गएको छ । स्रोतले दिएको जानकारी अनुसार, सो फिल्म साइन गर्दा उनले निर्माता गिरीसँग 'रोज' बाहेक अरु फिल्म तत्काल नगर्ने सम्झौता गरेका थिए । तर, उनी हालै फिल्म 'लभ स्टेशन' मा अनुबन्ध भए ।
लगालग फिल्म गर्दा अब 'भैरवी' निर्माताले उनको विकल्प खोज्न थालेको चर्चा छ । फिल्मीखबरले यस विषयमा बुझ्न खोज्दा निर्माता गिरी बोल्न चाहेनन् । भने, 'केही दिन प्रतिक्षा गर्नुहोस् ।' खबरअनुसार, प्रदीपको ठाउँमा अभिनेता पल शाह हुने सम्भावना बलियो छ ।
'भैरवी' साइन गर्दा उनले एडभान्स स्वरुप ५ लाख बुझेका छन् । उनी 'लभ स्टेशन' सकेपछि उक्त फिल्म गर्ने बताउँछन् । तर, सम्झौतामा उनले 'रोज' पछि 'भैरवी' गर्ने उल्लेख छ । अब उक्त फिल्ममा चकलेटी ब्वाई प्रदीप यथावत रहन्छन् वा रहँदैनन् ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

