शुक्रवारबाट प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डनमा’ लाई रिलिज अगाडि प्रतिक्षीत फिल्मको रुपमा हेरिएको थियो । गीतसंगीतले बनाएको हाइप, ट्रेलरमा देखिएको मेकिङ क्वालिटी र स्टार कास्टका कारण फिल्मको इनिसियल व्यापार आक्रामक हुने धेरैको पूर्वआँकलन थियो ।
प्रदर्शनको पहिलो दिन ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मलाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ । बिहीवार भएको प्रिमियरमा कलाकारको अभिनय, प्रोडक्शन भ्यालु र लोकेशनको 'वाहवाही' भएको थियो । दर्शकले पनि यही पाटोलाई उम्दा भनेका छन् ।
प्रिमियरमा धेरैले बलिउड अभिनेता शाहरुख खान र काजोल देवगन अभिनीत फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे' को फ्लेवर दिने बताएका थिए । दर्शकबाट पनि यो कमेन्टको कमी छैन । तर, यो कुरालाई लिएर निर्देशक रेनाशा वान्तवा राईमा कुनै सुर्ता छैन ।
शुक्रवार साँझ सिभिल हलमा अभिनेता धिरज मगरसँग दर्शक प्रतिक्रिया बुझ्न भेटिएकी उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा आफ्नो विचार राखिन् । भन्छिन्, ‘डिडिएलजे’ को भाइभ्स पाइरहेको कमेन्टले म दु:खी छैन । झन् खुसी छु । यो पनि हाम्रो लागि एउटा सफलता हो ।‘
उनले ‘इन्टु मिन्टु लण्डनमा’ लाई ‘डिडिएलजे’ सँग दाँज्नुलाई आफूले कम्प्लिमेन्टको रुपमा लिएको बताइन् । उनले फिल्मकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाहसँग सम्बन्ध चिसिएको विषयमा फिजिएको चर्चाबारे पनि खण्डन गरिन् । र, धिरजले पनि ।
धिरज भन्छन्, 'हामी फिल्म हेर्दा पछाडि सिटमा बसेर कुरा गरिरहेका थियौं । फिल्मका हरेक दृश्यमा हामीबीच कानेखुसी भइरहेको थियो । प्रिमियरको प्रेसरले गर्दा केही कम बोलचाल भएको होला तर मिडियामा आएको जस्तो चाहिं केही भएको छैन ।' निर्देशक राईले पनि उनको कुरामा लाप्चे लगाइन् ।
'हाम्रो २ वर्षको मिहिनेत अहिले दर्शकले हेरिरहनु भएको छ । यो अवस्थामा हामी फुटेर होइन जुटेर बस्नुपर्छ । अहिले हामी फुट्यौं भने के ब्याक फायर हुन्छ भन्ने राम्रोसँग थाहा छ । त्यसैले हामी जुटेर अगाडि बढिरहेका छौं', निर्देशक राईले भनिन् ।
निर्देशक राई र अभिनेता मगरको यो डेब्यु फिल्म हो । रेनाशाले ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा हात हालेकी हुन् भने धिरजको पहिलो अभिनीत फिल्म हो । दुबै दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेकोमा उत्साहित भएको बताउँछन् ।
केही हप्ता लण्डन घुम्न गएकी मिन्टु अर्थात् मिरा (साम्राज्ञी) र लण्डनकै रैथाने इन्टु अर्थात् इशान (धिरज) को प्रेमकथा वाचन गरेको फिल्ममा अभिनेता सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको अभिनय छ ।
डेब्यु फिल्मबाट धिरजले राम्रो सम्भावना देखाएका छन् । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा उनलाई फिल्म क्षेत्रले सम्भावना बोकेको अभिनेताको रुपमा हेर्न सक्नेछ । साम्राज्ञीको अभिनयमा केही 'ग्रोथ' देखिन्छ । उता सारुक फिल्मको मेरुदण्डको रुपमा छन् ।

