शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ का प्रमुख कलाकार हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर । धिरजको यो डेब्यु फिल्म हो ।
बिहीवार फिल्मकोे राजधानीमा प्रिमियर राखिएको थियो । हेवी प्रिमियर साँझ करीब ६ बजे सुरु भयो, जब फिल्मका निर्माता प्रभु समशेर जबरासहितको टिमले रिवन काटे ।
निर्देशक रेनाशा वान्तवा राईको हात समात्दै अभिनेता द्वय धिरज र सारुक ताम्राकारले प्रिमियरमा ईन्ट्री लिएका थिए । निर्देशकसँग फिल्मका प्रमुख कलाकार एकसाथ आएपनि साम्राज्ञी नदेख्दा सबै अचम्ममा परे ।
के नआउने हुन् उनी ? पत्रकारबीच कानेखुसी चल्यो । रेड कार्पेटमा पोज-पोजका तश्बिर खिचाउँदै रेनाशा, धिरज र सारुक फिल्मको विषयमा जानकारी दिन बनाइएको स्टेजसम्म पुगे ।
करीब १५ मिनेट कलाकार, निर्माता र निर्देशकले आफ्नो कुरा राखे । उद्घोषिकाले साम्राज्ञी आउँदै गरेको जानकारी गराइरहिन् तर सबैले बोलिसक्दा पनि उनी आउने छाँटकाँट देखिएन । सबैले आफ्नो कुरा राखेपछि स्टेजबाट ओर्लिए । निर्देशक राईले कार्यक्रम बन्द गर्न आग्रह गरिन् ।
तर, मिडियाका क्यामेराहरु साम्राज्ञीको प्रतिक्षामा ढोका बाहिर निहालिरहेका थिए । यस्तैमा कालो पहिरनमा आमालाई साथ लिएर उनको प्रिमियरमा ईन्ट्री भयो । केहीबेर उनले सोलो फोटो मिडियालाई खिचाइन् । उद्घोषिकाले फेरि निर्देशक र कलाकारलाई स्टेज अगाडि आउन निमन्त्रणा दिइन् ।
साम्राज्ञीसँग तश्बिर खिचाउन पुनः रेनाशा, धिरज र सारुक मिडिया सामुन्ने उपस्थित भए । रोचक दृश्यले त तब देखियो जब साम्राज्ञीसँग कसैले अंकमाल गरेनन्, न उनले नै । निर्देशक राईले उनको आमा नेहालाई अंकमाल गरिन् तर साम्राज्ञीलाई 'हाई' सम्म भनिनन् ।
धिरजले त उनलाई देखे पनि नदेखेझैं गरेका थिए । न हाई न त अंकमाल, हिरो-हिरोइन नै प्रिमियरमा अपरिचित जस्तै देखिएका थिए । साम्राज्ञी, सारुकसँग भने बोलिरहेकी थिइन् ।
तश्बिर खिचाउँदा पनि उनी सारुकको साइडमा उभिइन् । मिडियाले केही 'क्लोज' हुन आग्रह गरे । साम्राज्ञीले सारुकको पाखुरा समातिन् तर धिरजलाई बाल दिइनन् । धिरजले उनको प्रिमियरमा ईन्ट्री भएदेखि नै बेवास्था गरिरहेका थिए ।
उनले मिडियासँग तश्बिर खिचाउँदा एकपटक पनि साम्राज्ञीको अनुहारमा हेरेनन् । हेर्दा लाग्थ्यो, उनीहरु अपरिचित हुन् । दुईको पहिलो पटक भेट भएको हो र सँगै तश्बिर खिचाउन असहज महशुस गरिरहेका छन् ।
करीब ७ बजे फिल्म सुरु हुनु अगाडि फेरि चलचित्रकर्मी र पत्रकारसामु टिमले केही कुरा राख्यो । निर्देशक राई 'नमस्ते' भन्न नपाउँदै भक्कानिइन् । धिरज र सारुकले उनको छेवैमा गएर सम्हाल्न खोजे । तर, साम्राज्ञीले हेरिन् मात्र । यो दृश्यले नै निर्देशक राई र अभिनेत्री शाहबीच सम्बन्ध सन्तुलित नभएको छर्लङ्ग पारेको थियो ।
फिल्म ठिक साँझ ७ बजे सुरु भयो । सबैभन्दा माथिल्लो रोहको सिटमा धिरज बसे । उनको छेवैको सिटमा साम्राज्ञी बसिन् । क्रमशः उनीसँगै अभिनेत्री सुनिशा बजगाईँ र अभिनेता सारुक बसेका थिए ।
फिल्मीखबरका फोटोग्राफर विवेक बस्यालले साम्राज्ञी र धिरजबीच कुराकानी भएको तश्बिर खिच्न पटक-पटक क्यामेरा 'अन' गरे तर वार्तालाप त परको कुरा अभिनेता-अभिनेत्रीको एकपटक आँखा समेत जुधेन ।
धिरजको साम्राज्ञीसँग बोलचाल बन्द हुनुको कारण निर्देशक रेनाशा हुन् । फिल्म रिलिजको संघारमा हुँदा साम्राज्ञी अवार्डका लागि जापान पुगेकी थिइन् । यो कुराले निर्देशक राई खुसी थिइनन् ।
यही कारण उनी जापानबाट फर्किएपछि बोलचाल बन्द भएको सिनेवृतमा चर्चा छ । पपलुर अभिनेत्रीको अवार्ड थाप्न जापान उड्दा साम्राज्ञीको निर्देशक र हिरोसँग नै 'पानी बाराबार' को अवस्था सृजना भएको छ । अब परेन त फसाद !

