राजु अधिकारीको निर्देशनमा ‘मेरो आफ्नो’ नामक फिल्म निर्माण हुने भएको छ । शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा फिल्मको शुभ साइत गरिएको छ ।
ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती रहने फिल्मलाई बसन्त शर्मा र मात्रिका बजिमयले निर्माण गर्दैछन् । असोज ७ गतेबाट फिल्मको छायांकन हुने निर्देशक अधिकारीले बताए ।

चितवन र मनाङ्गमा छायांकन हुने फिल्ममा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ । केवल जंग कुँवरले यो फिल्मबाट डेब्यु गर्दैछन् ।
‘मेरो आफ्नो’ मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायांकन रहने छ । फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको हो । अर्को वर्षको मध्यतिर फिल्मलाई प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।

