Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘इन्टु मिन्टु लण्डनमा’ प्रिमियर : सारुकको कामको प्रशंसा (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/21
 
गीतसंगीत र ट्रेलरका कारण गजबको हाइप बनाएको प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन सिटी सेन्टरमा रहेको विग मुभिजमा फिल्मको ग्राण्ड प्रिमियर राखिएको थियो । 
 
 
निर्माता प्रभु समशेर जबरासहित फिल्मको टिमले रिवन काटेपछि प्रिमियर सुरु भएको थियो । भुवन केसी, झरना थापा, नम्रता श्रेष्ठ, रमेश उप्रेती, दिनेश राउत, हेमराज विसी, केकी अधिकारी, बेनिशा हमाललगायतका चलचित्रकर्मी प्रिमियरमा उपस्थित भएका थिए । 
 
 
निर्देशक रेनाशा वान्तवा राईको साथमा फिल्मका प्रमुख कलाकार धिरज मगर, सारुक ताम्राकार र सुनिशा बजगाईँले एकसाथ प्रिमियरमा ईन्ट्री लिएका थिए । अभिनेत्री साम्राज्ञी आरएल शाह भने केही ढिला उपस्थित भइन् । कालो पहिरनमा ब्ल्याक ब्यूटी भएर पुगेकी उनी नै प्रिमियरको प्राण बनेकी थिइन् । 
 
 
प्रिमियरको तामझाम सकिएर फिल्म सुरु हुँदा लगभग ७ बज्यो । केही मिनेट कलाकार, निर्माता र निर्देशकले आफ्नो भनाई राखे । निर्देशक राईले भावुक हुँदै २ वर्षको मिहिनेतले लिएर आएको बताइन् । अभिनेता धिरज पनि आफ्नो भनाई राख्ने क्रममा गहभरी भए । 
 
 
उनले आफ्नो डेब्यु फिल्म राम्रो र नराम्रो जस्तो लागेपनि प्रतिक्रियाको अपेक्षा राखेको बताए । अभिनेत्री साम्राज्ञी मिहिनेतको फल मिठो हुने भन्दै खुसी देखिइन् । फिल्म लगभग साँझ साढे ९ बजे सकियो । अधिकांशले फिल्मको मेकिङ, संगीतपक्ष र लोकेशनको तारिफ गरे । छायांकन पक्षलाई धेरैले कमजोर भने । 
 
 
फिल्म हेर्नेले अभिनेता सारुकको कामलाई उत्कृष्ट भनेका छन् । आर्मी अफिसरको भूमिकामा निभाएका उनको अभिनय र डाइलग डेलिभरी उम्दा छ । मध्यान्तरपछि फिल्म करिब–करिब उनकै काँधमा अडेको छ । पहिलो फिल्ममा धिरजले गरेको कामलाई पनि प्रशंसा गर्ने धेरै थिए । 
 
 
साम्राज्ञीको अभिनयमा पनि केही ग्रोथ देखिएको चलचित्रकर्मीको प्रतिक्रिया थियो । अभिनेत्री झरनाले फिल्म उत्कृष्ट लागेको भन्दै दर्शकलाई हेर्न आग्रह गरिन् । अभिनेता रमेशले सारुकको तारिफ गरेर थाकेनन् । हास्यकलाकार दीपाश्री निरौलाले निर्देशक रेनाशाको पहिलो प्रयास भएपनि उत्कृष्ट रहेको बताइन् । 
 
 
निर्देशक सुदर्शन थापाले फिल्ममा प्रोडक्सन भ्यालू र सेटिङ राम्रो रहेको भन्दै प्रशंसा गरे । भुवन केसी, नम्रता श्रेष्ठ, केकी अधिकारी, बेनिशा हमाललगायतले पनि फिल्मबारे राम्रो बोले । धेरैलाई फिल्मको मेकिङले लोभ्याएको थियो । 
 
 
पत्रकारले भने ‘इन्टु मिन्टु लण्डनमा’ लाई बलिउड फिल्म ‘दिल्वाले दुल्हनिया लेजायंगे’ फ्लेवरको भनेका छन् । दुरुस्तै नभएपनि धेरै प्लट उक्त फिल्मसँग मिल्छ । फिल्ममा निर्माताले लगानी गर्न भने कञ्जुसाइँ गरेका छैनन् । 
 
 
फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । 
 
 
फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ । 
Most Visited News (monthly)