अचेल कस्ता फिल्म चलिरहेका छन् ? तपाईको झट्टै उत्तर आउन सक्छ, कमेडीप्रधान । '६ एकान ६' पछि नेपालमा कमेडी फिल्मको बिगबिगी बढेको छ । ताजा उदाहरण 'छक्का पञ्जा' सिरिज हो ।
अब चर्चित हास्यजोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पनि कमेडी फिल्म निर्माण गर्दैछन् । चलचित्र विकास बोर्डमा फिल्मको नाम ‘एन्टिभाइरस’ दर्ता गरिएको छ ।
बिहीवार कलाकार धुर्मुसको जन्मदिनमा फिल्मको घोषणा गर्ने बताइएको थियो । तर, तयारी नपुगेको भन्दै घोषणा गरिएन । खबरअनुसार, उक्त फिल्मको निर्देशन कुञ्जनाले गर्दैछिन् । तर, कन्फर्म भने भएको छैन ।
श्रीमान सितारामको जन्मदिन मनाउँदै गर्दा उनले यस विषयमा मुख खोलिन् । 'टिमले निर्देशन गर्ने जिम्मा मलाई दिएको अवश्य पनि हो । तर मैले निर्देशन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय लिइसकेकी छैनँ । मैले नै निर्देशन गर्न पनि सक्छु र अरु कोही आउन पनि सक्नुहुन्छ', उनले भनिन् ।
कञ्जनाको कुराले उनी फिल्म निर्देशन गर्न इच्छुक देखिएको प्रष्ट हुन्छ । ‘एन्टिभाइरस’ मा अहिलेसम्म 'धुर्मुस-सुन्तली' को जोडी मात्र पक्का भएको छ । बाँकी कलाकारको छनौट कार्य भइरहेको सितारामले बताए । फिल्ममा युवा स्टार प्रदीप खड्का हुने चर्चा छ ।
उनले फिल्मको वान लाइन स्टोरी समेत सुनिसकेका छन् । केही दिन अगाडि प्रदीपको फिल्म 'रोज' हेर्न सिताराम हल नै पुगेका थिए । यो फिल्म गर्न प्रदीपले महजोडीको 'दाल भात तरकारी' छाडेको खबर छ ।

