अभिनेता प्रदीप खड्कालाई स्टार बनाएको फिल्म हो ‘प्रेमगीत’ । डेब्यु फिल्म 'स्केप' ले लगभग करिअर पाखा लगाइसकेको अवस्थामा उनका लागि यो फिल्म सञ्जीवनी बुटी साबित भएको थियो । सो फिल्मको दुई सिरिजमा उनले काम गरिसकेका छन् ।
प्रदीपलाई यो स्थानसम्म पुर्याउन उक्त फिल्मको सबैभन्दा ठूलो योगदान छ । उनी अहिले जति डिमान्डेड र महँगा भएका छन् त्यो सबै 'प्रेमगीत' सिरिजको देन हो । यो यथार्थलाई उनी पनि स्विकार गर्छन् ।
पहिलो श्रृंखला असफल भएपनि दर्शक र समीक्षकको नजरमा उत्कृष्ट ठहरिएको थियो । दोस्रो सिरिजले बक्सअफिसमा राम्रो कमाई गर्यो तर गज्जबकै तारिफ भने पाउन सकेन । अब निर्माता सन्तोष सेन ‘प्रेमगीत ३’ को तयारीमा जुटेका छन् ।
अर्को वर्षको मध्यतिर प्रदर्शनमा आउने गरि अहिले फिल्मको अन्डर प्रोडक्शनको काम भइरहेको छ । फिल्मीखबरसँग कुराकानी गर्दै सेनले भने, 'अहिले मैले 'मेरी मामु' को च्यारिटी र विदेश प्रदर्शनका लागि समय निकालेको छु । त्यसपछि ‘प्रेमगीत ३’ को काम सुरु गर्छु ।'
(2).jpg)
अहिलेसम्म फिल्मका लागि उत्कृष्ट कथा नभेटेको पनि उनले बताए । फिल्मको तेस्रो सिरिज निर्माण हुने कुरा भइरहँदा अभिनेता प्रदीप र निर्माता सेनबीच सम्बन्ध सन्तुलित नभएको चर्चा सिनेवृतमा छ । स्रोतका अनुसार, फिल्मको तेस्रो भागमा निर्माता सेन नयाँ हिरोलाई लञ्च गर्ने तयारीमा छन् ।
उनी भने यो कुरामा सत्यता नभएको बताउँछन् । 'फिल्ममा 'को हुने र को नहुने' केही फाइनल भएको छैन । को कलाकार हुने भन्ने कुरा स्टोरीमा भर पर्छ', उनले भने । हाल जन्मथलो रहेको उनले प्रदीपसँग सम्बन्ध विग्रिएको विषयमा पनि मुख खोले ।
उनी भन्छन्, 'उसले 'रोज' हेर्न बोलाएकोे थियो । म गाउँमा भएका कारण जान पाइनँ । हामी पहिला जस्तो थियौ अहिले पनि त्यस्तै छौ । उसँग बोलचाल बन्द हुने केही कुरै भएको छैन ।' सेनले 'प्रेमगीत ३' मा प्रदीप हुने वा नहुने कुरामा भने लालमोहर लगाउन चाहेनन् ।
उता प्रदीप भने अर्को वर्षका लागि ‘प्रेमगीत ३’ लाई समय निकालेर बसेका छन् । प्रदर्शनरत फिल्म 'रोज' बक्सअफिसमा असफल भएपछि उनी अब नयाँ फिल्म 'लभ स्टेशन' गर्दैछन् । यसपछि उनले 'भैरवी' र ‘प्रेमगीत ३’ गर्ने तालिका तयार पारेका छन् ।

