वर्षको बहुप्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘छक्का पञ्जा ३’ का लागि अहिले प्रदर्शन मिति घोषणा गर्न सबैभन्दा कठिन भइरहेको छ । दुई गीत सार्वजनिक भइसक्दा पनि निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्न सकेन ।
यसको प्रमुख कारण फिल्म 'जय भोले' लाई मानिएको छ । ‘छक्का पञ्जा ३’ जहिले आउँछ त्यही मितिमा भिड्न उक्त फिल्म तयार भएर बसेको छ । सुटिङ सकिएदेखि ‘छक्का पञ्जा’ को तेस्रो सिरिज फूलपाती वा घटस्थापनामा रिलिज हुने चर्चा भइरहेको छ ।
फिल्मीखबरलाई स्रोतले दिएको जानकारी अनुसार, टिमभित्र अहिले तीन मितिमा छलफल चलिरहेको छ । असोज २४, असोज २५ र असोज ३० मध्ये कुन रोज्ने ? टीमभित्र मत विभाजन छ । निर्माता तथा कलाकार दीपकराज गिरीले तीन मितिमध्ये एकमा फिल्म रिलिज हुने बताए ।
.jpg)
'शनिवार फिल्मको ट्रेलर रिलिज हुँदैछ । ट्रेलरमा फिल्मको आधिकारिक प्रदर्शन मिति राख्नेछौं', दीपकराजले फिल्मीखबरसँग फोनवार्तामा भने । रिलिज अगावै विदेश राइट्स एक करोडमा बिक्री भएको ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
फिल्मले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।
फिल्ममा दीपकका अलावा दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।

