नेपाली फिल्ममा स्क्रिप्टको ठूलो अभाव छ । दशक अगाडि स्क्रिप्टमा उत्ति साह्रो मिहिनेत गर्नु पर्दैन थियो । ४ वटा गीत, २/३ वटा एक्सन र हल्का रोनाधोना भए फिल्म सुपरहिट हुन्थे । तर आज समय फेरिएको छ ।
 (3).jpg)
अझ भन्ने हो भने, फिल्म 'लुट' पछि फिल्म मेकिङको शैलीमा नै परिवर्तन आएको छ । फिल्म पनि दुई धारमा विभाजित भएका छन्- नयाँ र पुरानो । छविराज ओझाले बनाउने फिल्मलाई पुरानो धारको भनिन्छ भने निश्चल बस्नेतका फिल्मलाई नयाँ धारको भन्ने गरिन्छ ।
यो हुनुको प्रमुख कारण स्क्रिप्ट नै हो । कलाकारलाई ५० लाख तिर्न तयार हुने निर्माता/निर्देशकहरु स्क्रिप्टमा १ लाख तिर्न नाक खुम्च्याउँछन् । यही कारण नयाँ सोच र फरक धारका फिल्म बन्न नसकेको आरोप केही वर्षदेखि लाग्दै आइरहेको छ ।
 (2).jpg)
नेपाली फिल्मको कथामा देखिँदै आएको कमजोरीलाई महसुस गर्दै ‘स्टोरी’ पक्षलाई बलियो तुल्याउन मनोज अधिकारीको टिमले सन् २०१२ बाट 'स्क्रिप्ट राइटिङ प्रतियोगिता' सुरु गरेको थियो । यो प्रतियोगिताको तेस्रो संस्करणको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच विजेता घोषणा गरिएको छ ।
१ सय ५० स्क्रिप्ट प्रतियोगितामा सहभागी भएपनि सुनिल गुरुङको स्क्रिप्ट ‘द गिफ्ट’ पुरस्कृत भएको छ । विजेता भएसँगै उनले तीन लाख पुरस्कारस्वरुप पाएका छन् । विजेता घोषणा भएपछि सुनिल भावुक भएका थिए । उनले आफूले अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हासिल गरेको बताए ।
 (1).jpg)
द्वन्द्वकालको समयमा आर्मी बन्ने सपना बुनेका एक युवक र नर्स बन्ने लक्ष्य लिएकी एक युवतीको प्रेमकथा उनले स्क्रिप्टमा उतारेका छन् । १ सय ५० स्क्रिप्टबाट उत्कृष्ट ३० स्क्रिप्ट दोस्रो चरणका लागि छनौट गरिएको थियो । जसमध्ये टप तीनमा ‘द गिफ्ट’ सँगै रियाज नत्तकको ‘मी र म’ र विपिन भुजेलको ‘अल वान आउट’ परेका थिए ।

