Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलको खाँचो छैन : सृष्टि श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2018/09/18
अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अझै पनि आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्षरत छिन् । उनको डेब्यु सुपरस्टार अनमोल केसीको फिल्म 'गाजलु' बाट भएको थियो । यो फिल्म बक्सअफिसमा हिट साबित हुँदा उनको व्यस्तता ह्वात्तै बढ्यो । 
 
केही वर्षदेखि अभिनेता सौगात मल्लसँँगको अफेयरमा रहेकी उनको दोस्रो फिल्म 'रोमियो एण्ड मुना' गएको महिना मात्र प्रदर्शनमा आएको थियो । फिल्म कमाईको मामलामा सफल नभएपनि उनको अभिनयको भने खुब प्रशंसा भएको थियो । 
 
अब उनको तेस्रो फिल्म 'बाँध मायाले' यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी अभिनेता आर्यन अधिकारीसँग बाँधिएको छ । सविर श्रेष्ठ निर्देशित फिल्ममा उनी एक सोझी गाउँले युवतीको भूमिकामा छिन् । उनी यो फिल्म आफ्नो लागि विशेष रहेको बताउँछिन् । 
 
 
'म फिल्म गर्न हतार गदिनँ । मलाई दिइएको भूमिकामा म डुब्न सक्छु कि सक्दिनँ त्यो हेरेपछि मात्र फिल्म गर्ने वा नगर्ने निर्णय लिन्छु ।  'बाँध मायाले' को कथा मनपर्‍यो । भूमिका राम्रो लाग्यो । म आफ्नो बेस्ट दिनसक्छु भन्ने लागेपछि काम गरेकी हुँ', उनले भनिन् । 
 
दोस्रो फिल्म 'रोमियो एण्ड मुना' फ्लप भएपछि पुनः उनलाई अनमोलको साथको खाँचो रहेको चर्चा हुन थालेको छ । तर, उनी यो कुरा स्वीकार गर्दिनन् । उनी भन्छिन्, 'मैले अहिले जे काम गरिरहेको छु त्यसमा एकदमै ग्रोथ देखिरहेको छु । मलाई कर्मशियल सक्सेसभन्दा पनि पर्सनल ग्रोथ महत्वपूर्ण लाग्छ ।' 
 
उनले अहिले आफूले गरेको कामबाट आत्मसन्तुष्टि मिलिरहेको बताइन् । 'अनमोलकी हिरोइन भन्दा कस्तो लाग्छ ?' फिल्मीखबरको प्रश्नमा उनी भन्छिन्, 'म खुसी छु । मेरो डेब्यु फिल्म नै उसँग भएको हो । फिल्म हेर्न युथहरुको इन्ट्रेस्ट बढेको छ त्यसमा अनमोलको ठूलो हात छ । र, मलाई उसको हिरोइन भन्दा कुनै दुखेसो छैन ।' 
 
अचेल अनमोललाई दर्शकले 'मेघास्टार' र 'सुपरस्टार' भन्न थालेका छन् । सृष्टि भने उनलाई आफ्नो मिल्ने साथी मात्र भन्न रुचाउँछिन् । 'उ सबै ट्यागका लागि हकदार छ' उनले भनिन्, 'तर, हामी मिल्ने साथी हौं ।' सृष्टि भविष्यमा अनमोलसँग फेरि काम गर्न इच्छुक रहेको बताउँछिन् । 
Most Visited News (monthly)