Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

लापर्बाही अवार्ड !

मनिष अन्जान, काठमाण्डौ, 2018/09/17
विस्तारै नेपाली फिल्म अवार्डले आफ्नो साख गुमाउँदै गएको छ । 'राम्रोलाई भन्दा हाम्रोलाई दिने' प्रवृति मौलाउँदा अवार्डप्रति चलचित्रकर्मीमा मात्र होइन दर्शकमा पनि शुन्य चासो छ । अवार्ड भनेको उत्कृष्ट मध्येबाट उत्कृष्टलाई प्रदान गरिनु पर्ने हो तर नेपाली अवार्डमा यो देखिन्न । 
 
अचेल त अवार्ड पनि वर्षमा दर्जन बढी हुन थालेका छन् । केही नेपालमा हुन्छन्, केही विदेश पुग्छन् । तर, जहाँ आयोजना भएपनि अवार्डप्रतिको विश्वसनियता गुम्दै गएको छ । धेरै चलचित्रकर्मीले त नेपाली फिल्म अवार्डलाई किनबेच गर्ने स्टल भन्न थालेका छन् । 
 
 
आइतवार राजधानीमा भब्य समारोहका बीच तेस्रो 'एलजी सिने सर्कल अवार्ड' आयोजना भयो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा अवार्ड भएको थियो । समारोह भब्य भएपनि अवार्ड वितरण उदेकलाग्दो थियो । 
 
चलचित्रकर्मीको आरोप छ, 'जो पुगे, अवार्ड उसैले पाए ।' एलजी अवार्ड पनि यो रोगबाट गाँजिएको थियो । नयाँ पुस्ताका निकै कम कलाकारहरु उपस्थित अवार्ड समारोहमा पुराना चलचित्रकर्मीहरुको बढी बाहुल्यता देखिएको थियो । तर, जति गएका थिए लगभग उनीहरु खाली हात फर्किनु परेन । 
 
फिल्म 'तिमीसँग' का साइड हिरो नाजिर हुसेनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइयो । न दर्शक न त समीक्षकको नजरमा उत्कृष्ट ठहरिएको यही फिल्म उत्कृष्ट बन्यो । अवार्डमा नाजिर र निर्देशक शिशिर राणा दुबै उपस्थित थिए । यो फिल्मले स्क्रिनप्लेको अवार्ड पनि जितेको थियो । 
 
'बेस्ट पोस्टर' को अवार्ड विजय बश्याल र शान थापाले हत्याए । दुबै चिटिक्क परेर अवार्ड समारोहमा पुगेका थिए । 'मोस्ट पपुलर गीत' को अवार्ड थाप्न गायक तथा संगीतकार राजनराज सिवाकोटी स्वयम पुगेका थिए । 'कम्मेन्डेवल फिल्म अफ दि इयर' को अवार्ड 'पञ्चायत' ले पायो । अवार्ड लिन निर्देशक शिवम् अधिकारी स्टेज चढे । 
 
'बेस्ट पपुलर एक्टर' को अवार्ड अभिनेता प्रदीप खड्कालाई प्रदान गरियो । ढाका टोपी ढल्काउँदै दौरा सुरुवालमा उनले अवार्ड ग्रहण गरे । अवार्ड समारोहमा पुगेका पुष्पल खड्का, एलिस कार्की, कविराज गहतराज, रमेश उप्रेती, अर्जुन पोखरेल, विदुर पाण्डे, नीता ढुंगाना, नवराज बुढाथोकी पनि अवार्डको हकदार बने । 
 
एलजी अवार्डमा प्रदान गरिएको ५ विधाको अवार्डको अहिले चर्को आलोचना भइरहेको छ । स्क्रिनप्ले, बेस्ट कपल, पपुलर एक्टर (फिमेल), बेस्ट एक्टर (मेल) र बेस्ट फिल्म विधामा दिइएको अवार्ड विवादास्पद बनेको छ । 
 
स्क्रिनप्ले, बेस्ट एक्टर (मेल) र बेस्ट फिल्मको अवार्ड 'तिमीसँग' ले पाएको थियो । यो फिल्मलाई गएको वर्षको सबैभन्दा कमजोर मानिएको थियो । पपुलर एक्टर (फिमेल) को अवार्ड फिल्म 'छक्का पञ्जा २' बाट प्रियंकाले पाइन् । उनीभन्दा गएको वर्ष 'ए मेरो हजुर २' बाट अभिनेत्री साम्राज्ञीको 'पपुलारिटी' बढी थियो । 
 
 
फिल्म 'ऐश्वर्य' बाट रमेश उप्रेती र दीपिका प्रसाइँले 'बेस्ट स्क्रिन कपल अवार्ड' उचाले । यो जोडीभन्दा 'लिलिबिली' बाट अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको जोडीलाई दर्शकले 'बेस्ट' भनेका थिए । साथै, 'शत्रु गते' बाट पल शाह र आँचल शर्माको जोडीलाई पनि । कसरी 'ऐश्वर्य' जोडी ? यो त जुरीलाई नै थाहा होला । 
 
'एलजी सिने सर्कल' अवार्डलाई धेरै चलचित्रकर्मीले फरक अवार्डको रुपमा हेरेका थिए । पहिलो र दोस्रो वर्ष भएको अवार्डमा कुनै विरोधको स्वर सुनिएको थिएन । तेस्रो पटक भने लापर्बाही रुपमा अवार्ड बाँडिएको प्रष्ट हुन्थ्यो । उता बलिउड अभिनेता गोविन्दा हाबी हुँदा अवार्डले आफ्नो मुल मर्म नै विर्सिएको थियो । 
Most Visited News (monthly)