बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन् । आइतवार राजधानीमा हुने 'एलजी फिल्म अवार्ड' मा सहभागी हुनका लागि उनी छोरी टिना आहुजालाई साथ लिएर शनिवार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।
अवार्ड आयोजक प्रमुख दिनेश डिसीका अनुसार, अभिनेता गोविन्दाको नेपाल बसाई तीन दिनको हुनेछ । अवार्ड समारोहमा उनले बरिष्ठ फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्नेछन् ।
नेपाली भूमी टेकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीहरुलाई धन्यवाद दिए । उनले नेपाल बसाईको क्रममा पशुपतिको दर्शन गर्ने र चन्द्रागिरी हिल्स् पुग्ने बताए ।
भारत भ्रमणमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्दालाई 'ज्वाइँ' भन्दै सम्बोधन गरेका थिए । उनकै आग्रहमा गोविन्दालाई नेपाल ल्याइएको बुझिएको छ । खबरअनुसार, 'हिरो नम्बर वान' फेम्ड अभिनेताले नेपाल बसाईको क्रममा प्रधानमन्त्री ओलीसँग पनि भेट गर्ने कार्यक्रम छ ।
सन् १९९० पछि उनी धेरै पटक नेपाल आइसकेका छन् । सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने कुराले पनि ठूलो चर्चा पाएको थियो । अभिनेत्री मनीषा कोइरालाको विवाहमा सरिक हुन पनि उनी नेपाल आएका थिए ।
गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । आफ्नो गज्जबको डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका उनले ‘इल्जाम’ बाट बलिउडमा डेब्यु गरेका थिए । ९० को दशकका उनी सुपरहिट अभिनेता हुन् ।

