यस वर्षको पहिलो हिट फिल्म हो 'नाईं नभन्नू ल ५' । दोस्रो हप्ताको आरम्भ सँगै यो फिल्म नाफाको बाटोमा दौडिएको थियो । अब मल्टिस्टारर फिल्म ‘रामकहानी’ वर्षको दोस्रो हिट फिल्ममा आफ्नो नाम लेखाउने तरखरमा छ ।
सुदर्शन थापा निर्देशित यो फिल्मको इनिसियल व्यापार कमजोर रहेको थियो । अभिनेता प्रदीप खड्का स्टारर फिल्म 'रोज' ले पनि ठूलो असर गर्यो । तर, बलियो 'वर्ड अफ माउथ' ले विस्तारै फिल्मको कलेक्सन उकालो लाग्दै गएको छ ।
शुक्रवारबाट फिल्मले दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको छ । प्रदर्शनको ६ दिनमा कुल २ करोड ४८ लाखको कलेक्सन गरेको फिल्मले बिहीवार देशभर २२ लाख कमाएको वितरक सुनिल मानन्धरले फिल्मीखबरलाई बताए । एक हप्तामा फिल्मले बक्सअफिसमा २ करोड ७० लाख छाप्न सफल भएको छ ।
यो फिल्मले आफ्नो लगानी सुरक्षित गर्न घरेलू बजारबाट ३ करोड माथि कमाउनु पर्ने हुन्छ । यसकारण अझै केही दिन हलमा दर्शकको राम्रो चाप रहन आवश्यक छ । वितरक मानन्धरले तीजको बिदामा फिल्मले बम्पर कमाई गरेको बताए ।
उनका अनुसार, उक्त दिन फिल्मले देशभर ८० लाखको कलेक्सन गरेको थियो । 'वर्ड अफ माउथ राम्रो भएका कारण हलमा फिल्म टिकिरहेको छ' उनले भने, 'दोस्रो सातामा पनि फिल्मको कलेक्सन राम्रो हुनेमा आशावादी छौं ।' उनी फिल्मको हल संख्यामा घटबड नभएको पनि बताउँछन् ।
फिल्मले कमाईमा एकसाथ प्रदर्शनमा आएको फिल्म 'रोज' लाई निकै पछाडि छाडेको छ । रिलिज अगाडि ‘रामकहानी’ लाई उक्त फिल्मसँग भिड्नु फलामको चिउरा चपाउनु सरह भनिएको थियो । तर, नतिजा अनुमान विपरित आयो ।
फिल्मले देशभर सुखद कलेक्सन गरिरहेको अवस्थामा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत अहिले मोफसलका विभिन्न सहर पुगेर दर्शक भेट्न व्यस्त छन् । उनीहरुले हल-हलमा पुगेर दर्शकसँग सेल्फी खिच्दै फिल्म रुचाइदिएकोमा धन्यवाद दिएका छन् ।
माया (पूजा) र राम (आकाश) को प्रेमकथा वाचन गरेको ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रबिन्द्र झा, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । पूजा र निर्देशक थापाले संयूक्त रुपमा फिल्म निर्माण गरेका हुन् ।

