कहिले वर्षमा एउटा फिल्म नआएर तनाब, कहिले हप्तैपिच्छे लागेर फसाद ! यो कुरा अहिले हास्यकलाकार विल्सन विक्रम राईको हकमा लागू भएको छ । लामो समय पर्दामा नदेखिएका उनको यही भाद्रमा त्यो पनि हप्ताको अन्तरमा दुई फिल्म हल पसेका छन् ।
शुक्रवारबाट उनको नयाँ फिल्म 'साली कस्को भेनाको' प्रदर्शनमा आएको छ । उता फिल्म 'रामकहानी' ले दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ । दुबै फिल्ममा उनको लिड रोल छ । भूमिका पनि दुबै फिल्ममा आकाश-जमिनको फरक छैन ।
विल्सनकै लागि हल जाने दर्शकलाई यस हप्ता 'रामकहानी' हेर्ने वा 'साली कस्को...' ? निर्णय लिन कठिन हुने देखिन्छ । अब दुई फिल्मलाई एकअर्काको उपस्थिति भारी पर्ला वा नपर्ला ?, दर्शकको पहिलो रोजाई कुन बन्ला ? त्यो भने हेर्न बाँकी छ ।
(1).jpg)
यस हप्ताको शुक्रवार 'साली कस्को...' बाहेक अन्य फिल्म प्रदर्शनमा आएका छैनन् । यसअघि हरेक हप्ता दुई बढी फिल्मको भिडन्त हुँदै आएको थियो । यो हप्ता हलमा नयाँ फिल्मको भिडभाड नदेखिनुको पछाडि गएको हप्ता आएका दुई ठूला फिल्म हुन्, 'रोज' र 'रामकहानी' ।
दुई फिल्मको चेपुवामा पर्ने डरले यो साता एक मात्र फिल्मले प्रदर्शनमा उत्रने जोखिम उठाएको हो । 'साली कस्को भेनाको' लाई पुराना निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई देखाइएको छ ।
भद्र भुजेलको निर्देशन रहेको फिल्ममा विल्सनका अलावा सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, देव सागरलगायतका कलाकारहरुको अभिनय छ । गएको हप्ता प्रदर्शनमा आएका दुई ठूला फिल्मका कारण उक्त फिल्मले निकै कम हल पाएको छ ।

