फिल्म ‘कथा काठमाण्डू’ को गीत 'रातको कुरा...' यूट्युबमा रिलिज भएसँगै आलोचना भएको थियो । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीवीच इन्टिमेट सिनले फिल्म विवादको भूमरीमा परेको छ ।

दर्शकले भलगरको ट्याग दिएका छन् । हालै सार्वजनिक प्रोमोबाट त फिल्मको झन् चर्को विरोध भइरहेको छ । यतिसम्मकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारमा केहीले प्रोमोलाई लिएर गुनासो गरेका छन् ।
सरकारले सम्बन्धित निकाय अर्थात् चलचित्र विकास बोर्डलाई प्रोमोको विषयमा बुझ्न पत्र काटेको छ । जसअन्तर्गत बोर्डले फिल्म निर्माण कम्पनीलाई तत्काल यूट्युबबाट प्रोमो हटाउन निर्देशन दिएको छ ।
बोर्ड अध्यक्ष निकिता पौडेलले पत्र काट्दै अश्लिल प्रोमो हटाउन निर्देशन दिएकी छन् । प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त फिल्मको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्न पत्रमा भनिएको छ ।
प्रोमो नहटाए फिल्म (निर्माण, वितरण तथा प्रदर्शन) नियमावली बमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ । निर्देशक संगीता श्रेष्ठले बोर्डले रिलिजको बेला अनावश्यक तनाब दिएको बताएकी छन् ।
बोर्डले काटेको पत्रको जवाफ आफूले दिइसकेको उनले बताइन् । मंगलवार अकास्मत पत्रकार सम्मेलन गर्दै उनले भनिन्, 'बोर्डले पत्रमा उल्लेख गरेको यूट्युब लिंक हाम्रो प्रोमोको होइन । अरु च्यानलको लिंकलाई लिएर हामीलाई कारबाही गर्छु भन्नु कति उचित छ ?'

(चलचित्र विकास बोर्डले काटेको पत्र)
बोर्डले पत्रमा प्रोमोलाई अश्लिल भनेकोप्रति पनि उनले आपत्ति जनाइन् । 'एउटा जिम्मेवार संस्थाले प्रोमोलाई अश्लिल भन्न मिल्छ ?' उनी कड्किदै भन्छिन्, 'आपत्तिजनक भनेको भए स्वभाविक हुने थियो । अश्लिल भन्न मिल्दैन ।' उनले फिल्मको कथा नै प्रोमो र गीतमा देखाएको बताइन् ।
'श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो । फिल्मले यही कथा बोल्छ । के एउटा मेकर्सले आफ्नो कथा भन्न पाउने अधिकार पनि छैन ?' निर्देशक श्रेष्ठले बोर्डलाई प्रश्न गरिन् ।
असोज १२ गते प्रदर्शनमा आउन लागेको यो फिल्म अब बोर्डले पत्र काटेपछि रिलिज अन्यौलमा परेको छ । अहिले फिल्मको टिम मोफसल प्रचारमा व्यस्त छ । बोर्डले पत्र काटेसँगै फिल्मको प्रचारमा समेत असर परेको छ ।

