घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको मल्टिस्टारर फिल्म ‘रामकहानी’ ले अब विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । प्रदर्शनको तीन दिनमा करोड ग्रस कलेक्सन गरेको यो फिल्म यूरोप, अष्ट्रेलिया, अमेरिकामा लाग्ने निर्देशक सुदर्शन थापाले जानकारी दिए ।
उनका अनुसार, फिल्म प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो फिल्म रिलिज हुनेछ । यस्तै, फिल्म अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ । फिल्म यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुँदैछ ।
डेनमार्कपछि फिल्मको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुने निर्देशकले बताए । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि फिल्म प्रदर्शनका लागि तयारी भइरहेको छ ।
सुदर्शनले भने– ‘नेपालमा सफल प्रदर्शन र सकारात्मक समिक्षा आएपछि विश्वभरबाट ‘रामकहानी’ को डिमाण्ड आइरहेको छ । हामी, विश्वभर रहेका नेपाली दर्शकहरुमाझ फिल्म प्रदर्शन गर्ने तयारीमा छौ ।’
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा निर्देशक थापा स्वयमले लेखेका हुन् ।

