भर्सटायल अभिनेताको सूचीमा सबैभन्दा अग्रणी स्थानमा आउँछ प्रमोद अग्रहरीको नाम । फिल्म 'उमा' मा माओवादी छापामार बनेर देखा परेका उनले त्यसपछि दर्जन बढी फिल्ममा फरक-फरक चरित्र निभाए ।
मधेशी पात्रमा मात्र टाँसिएर बसेको आरोप खेपिरहेका उनको नयाँ फिल्म ‘कथा काठमाण्डू’ असोज १२ गते प्रदर्शनमा आउँदैछ । यो फिल्म गीतसंगीत र ट्रेलरका अहिले निकै चर्चामा छ । उनी यो फिल्म 'सञ्जीवनी बुटी' साबित हुनेमा आशावादी छन् ।

अभिनेत्री प्रियंका कार्कीसँगको इन्टिमेट सिनका कारण यतिबेला सबैको नजरमा परेका उनी उक्त फिल्मलाई आफ्नो करिअरको दोस्रो अध्याय भन्न रुचाउँछन् । अन्य फिल्मभन्दा भूमिका पनि फरक रहेको उनको भनाई छ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा अभिनेता अग्रहरीलाई फिल्मीखबरकर्मी मनिष अन्जानले ६ प्रश्न गरेका छन् । यसरी दिएका छन् उनले प्रश्नको सटिक जवाफ :-
१. प्रियंकासँगको इन्टिमेट सिन करिअरका लागि घातक बन्ला ?
मलाई त्यस्तो लाग्दैन । म एउटा कलाकार हुँ । कलाकार भएपछि हामीले हरेक किसिमको क्यारेक्टर गर्नुपर्ने हुन्छ । सँगसँगै समाजप्रति उसको एकखालको नेतृत्व पनि हुन्छ । आफूले गरेको कामबाट समाजलाई राम्रो हुन्छ र सन्देश दिन्छ भने किन नगर्ने ?
नेपाली फिल्मको ५५ वर्षको इतिहास छ । तर, किन मुम्बईया फिल्म मात्र बन्यो हामीकहाँ ? हाम्रो कथालाई किन कहिल्यै ल्याइएन ? यो काहिँबाट त सुरु हुनु नै थियो र ‘कथा काठमाण्डू’ बाट भयो । मलाई लाग्दैन इन्टिमेट सिनकै कारण मेरो करिअरलाई घात हुन्छ ।
२. गीतसंगीत र ट्रेलरबाट पोजेटिभ र नेगेटिभ कमेन्ट कस्तो पाइरहनु भएको छ ?
पहिला जसरी गीत रिलिज भयो केही नेगेटिभ कमेन्टहरु आएका थिए । सँगै केही पोजेटिभ पनि थिए । तर, मात्रामा हेर्ने हो भने नेगेटिभ कमेन्ट बढी थिए । पहिलो पटक गीत हेर्दा धेरैलाई छाडापन लाग्यो ।
तर, पछि हेर्दै जाँदा गीतमा कथा, क्यारेक्टर र पिडा भेट्न थाल्नुभयो । ट्रेलरसम्म आइपुग्दा भने अधिकांशलाई एउटा पखाई नै भएको छ । अहिले सबैले राम्रो भन्नुभएको छ ।
३. ‘कथा काठमाण्डू’ लाई तपाईको करिअरको दोस्रो अध्याय भन्दा गलत हुन्छ ?
म यहाँसम्म आइपुग्नुको कारण मेरा सबै क्यारेक्टर रुचाइदिएर नै हो । मैले अहिलेसम्म जति पनि फिल्म गरे तीबाट मलाई राम्रो नै भएको छ । चाहे सफल भएका हुन् वा दुई दिनमै उत्रिएका किन नहुन ।
मेरा यसअघिका फिल्म राम्रो हुँदैन थियो भने मलाई संगीता श्रेष्ठले ‘कथा काठमाण्डू’ मा कास्ट पनि गर्दिन थिइन् होला । यो फिल्मलाई म करिअरको दोस्रो अध्याय मान्न भने तयार छु ।

४. फिल्ममा निभाएको भूमिका पहिलादेखि नै गर्न मन थियो ?
मलाई त समाजमा देखिने हरेक क्यारेक्टर गर्नु छ । तर, रियालिटी बेसमा भएर । चाहे त्यो रिक्स चलाउने होस् वा मकै पाल्ने नै किन नहोस् । मलाई सबै क्यारेक्टर गर्न मन छ ।
५. नयाँ निर्देशक हुनुहुन्छ संगीता श्रेष्ठ । के विश्वास थियो हुबहुँ स्क्रिप्ट पर्दामा उतार्न सक्नुहुन्छ भन्ने ?
हुबहुँ त थाहा छैन । मलाई के विश्वास थियो भने त्यो क्यारेक्टर एउटा जन्मिन्छ । म आफूभित्रबाट जन्माउँछु । मैले देखेका कुराहरुबाट जन्माउँछु । संगीताले जे भन्न भनेको छ त्यो स्पष्ट रुपमा आउँछ भन्नेमा मलाई शंका थिएन ।
६. आफूलाई मधेशी पात्रमा मात्र अल्झाइयो भन्ने तपाईको गुनासो थियो । यो फिल्मबाट कति टाढा हुनुहुन्छ ?
फरक छ । गएको ६ वर्षमा मेरो १२/१५ वटा फिल्म रिलिज भयो त्यसमध्ये यसमा आकाश- जमिनको फरक पाउनुहुन्छ । लुक्स, पर्सानालिटी, भाषा र मनोविज्ञान एकदमै फरक छ ।

