Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजाको अभिनयमा निखारता, आकाशको ज्यूँकात्यूँ

फिल्मीखबर, काठमाण्डौ, 2018/09/11
लामो रेसको घोडा बन्न एउटा कलाकारले अभिनयमा निखारता देखाउन अत्यन्त आवश्यक हुन्छ । अभिनयको प्रशंसा नहुँदासम्म कुनै पनि कलाकारको करिअरले पिकअप लिन सक्दैनन् । अहिले अभिनेता आकाश श्रेष्ठको हालत यस्तै छ । 
 
 
डेब्यु फिल्म 'म त तिम्रै हुँ', 'तिमीसँग', 'ब्ल्याक' हुँदै हाल प्रदर्शनरत फिल्म 'रामकहानी' सम्म आइपुग्दा उनको अभिनयको वाहवाही कहिँकतै सुनिएको छैन । न उनको अहिलेसम्म कुनै फिल्म गर्व गर्न लायक गरि चले न त अभिनयमा नै प्रगति देखिएको छ । 
 
लगालग फिल्म गर्ने धाउन्नमा आकाशले अभिनयमा आफूलाई सशक्त बनाउन विर्सिएका छन् । धेरैलाई विश्वास थियो 'रामकहानी' मा निर्देशक सुदर्शन थापाले उनीबाट राम्रो काम निकाल्न सक्छन् । धेरथोर सफल देखिएपनि त्यो तिर्खा मेटाउनका लागि प्रयाप्त छैन । 
 
उनको सबैभन्दा कमजोर पक्ष भनेको डाइलग डेलिभरी हो । उनको डाइलग डेलिभरी हल्का र अस्वाभाविक लाग्छ । आकाशको अभिनय क्षमता औसतभन्दा माथि उठ्न सकेको छैन । 'रामकहानी' सुपरहिट भएको खण्डमा पनि उनलाई खासै ठूलो अर्थ राख्ने देखिन्न । 
 
 
अभिनेत्री पूजा शर्माको भने अभिनयमा 'ग्रोथ' छ । 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु' भन्दा 'रामकहानी' मा उनको अभिनयमा आकाश-जमिनको भिन्नता छ । यो फिल्मको मेरुदण्ड नै उनी हुन् । उनले अभिनयमा निखारता देखाएकी छन् । 
 
'रामकहानी' बाट सबैभन्दा ठूलो फाइदा कसैलाई भएको छ भने त्यो पूजालाई नै भएको छ । बक्सअफिसमा जबर्जस्त कलेक्सन नगरेपनि फिल्म हेर्नेले उनको अभिनयको प्रशंसा गर्न हिचकिचाउँदैनन् । यसपटक उनको रोलमा पनि 'भेरियसन' दिएकी छन् । 
 
'प्रेमगीत' मा प्रदीप खड्का र 'म यस्तो गीत गाउँछु' मा पल शाहसँग उनको जोडी सर्वाधिक रुचाइएको थियो । 'रामकहानी' मा पनि त्यो दोहोरिएको छ । आकाशसँग पूजाको केमेस्ट्री कमालको देखिएको छ । 
 
 
प्रदर्शनको तीन दिनमा करोड ग्रस कलेक्सन गरेको यो फिल्मले नेपालबाटै लगानी सुरक्षित गर्न बक्सअफिसमा अझै कसरत गर्नुपर्ने हुन्छ । 'वड अफ माउथ' निकै राम्रो भएका कारण उक्त फिल्म वर्षको हिट फिल्ममा दरिने धेरैको विश्वास छ । 
Most Visited News (monthly)