Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

रेखा र भुवन दुबै एकअर्काका ‘फेभरेट’

फिल्मीखबर, काठमाण्डौ, 2018/09/10
‘साथी म तिम्रो, ‘दुनियाँ’ लगायतका फिल्ममा एकसाथ काम गरेको हिट जोडी हो अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापा । तर, केही समययता दुईबीच 'कोल्डवार' चलिरहेको सिनेवृतमा चर्चा छ । 
 
 
अभिनेत्री रेखाले भुवनका छोरा अनमोल केसीलाई 'मेघास्टार' भनिएकोप्रति आपत्ति जनाएपछि दुईबीच 'पानी बाराबार' भएको खबरले यतिबेला ठूलै हलचल मच्चाएको छ । केही हप्ता अगाडि राजधानीमा भएको एक कार्यक्रममा राम्रोसँग बोलचाल नगर्नुले पनि बजारको चर्चालाई राम्रै मलजल गर्‍यो । 
 
एक स्मारिकामा अनमोलप्रति लक्षित गर्दै एक/दुई हिट फिल्म दिएको भरमा नयाँलाई 'मेघास्टार' भनिनु तर आफूले लगातार १५ वर्षदेखि हिट फिल्म दिँदा पनि 'महानायिका' र 'मेघास्टार' नभनेकोमा मिडियाप्रति रेखाले दुखेसो पोखेकी थिइन् । 
 
 
उनको यो भनाईले भुवनको कम्ता पारो तातेन । उनमा 'इगो' भावना पलायो । छोरा अनमोलको फिल्म 'क्याप्टेन' रेखाको 'मालिका' सँग जुधाउने भुवनले तयारी समेत थाले । अझै पनि दुई फिल्मको भिडन्त हुने खबर चर्चामा छ । 
 
आइतवार भने निकै गजबको संयोग जुर्‍यो । भुवन र रेखा एकसाथ अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म 'रामकहानी' हेर्न कुमार हल पुगेका थिए । हल पस्दा भेट नभएपनि निस्कँदा भने दुबै एकसाथ भए । अनि, मिडियाबाट उम्कने त कुरै भएन । 
 
 
भुवनले छेवैमा रहेकी पूजाको अभिनयको प्रशंसा गर्दैगर्दा उनको पछाडि रेखा आइपुगिन् । पत्रकारले उनलाई पनि क्यामेरा अगाडि आउन आग्रह गरेपछि पूजाले बोलाइन् । रेखा हिचकिचाइनन् । उनले मुस्कुराउँदै भुवनलाई अंकमाल गरिन् । 
 
भुवन र रेखाले फिल्मको तारिफ गरेपछि मिडियाले दुबैलाई प्रश्न गरे, 'तपाईहरुबीच वाकयुद्धको चर्चा छ नी ?' रेखाले मिडियामाथि नै दोष थोपरिन् । भनिन्, 'तपाईहरुले गर्दिनु भएको हो । हाम्रो त कहिले थिएन ।' भुवनले पनि रेखाको कुरामा सहमती जनाए । 
 
 
दुबैले आफूहरु 'साथी साथी' रहेको बताए । भुवनले सधैं रेखा आफ्नो 'फेभरेट' रहेको भन्दै प्रशंसाका शब्द बर्साउन पछि परेनन् । रेखाले त 'महानायक' नै भनिदिइन् । उनले मिडियाको भनाईलाई टेक्दै आफूलाई 'लेडी भुवन केसी' समेत भन्न भ्याइन् ।
 
अभिनेत्री रेखाले 'मेघास्टार' भनिएकोमा आपत्ति जनाएपछि केही हप्ता अगाडि अभिनेता अनमोलले यस विषयमा मुख खोलेका थिए । उनले आफ्नो नजरमा रेखा नै 'मेघास्टार' रहेको भन्दै मजेदार जवाफ फर्काएका थिए । 
 
 
रेखाले पनि एक कार्यक्रममा आफू 'महानायिका' र 'मेघास्टार' को ट्यागको भोको नभएको बताएकी थिइन् । दर्शकको माया नै आफ्नो लागि सबैभन्दा ठूलो ट्याग रहेको उनको भनाई थियो । अब हेर्न यो बाँकी छ कि रेखा र भुवनको वाकयुद्ध अन्त्य भयो वा ज्यूँकात्यूँ छ ?
Most Visited News (monthly)