अभिनेता प्रदीप खड्का आफैंमा एक ब्रान्ड हुन् । उनको नामले नै फिल्म चल्छ भन्ने मान्यता धेरैको छ । 'प्रेमगीत' बाट रातारात चम्किएका उनी अभिनीत नयाँ चलचित्र 'रोज' शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ ।
निर्माणको बेलादेखि नै दर्शकमाझ यो फिल्मको व्यग्रताका साथ प्रतिक्षा थियो । चकलेटी लुक्सका प्रदीपको क्रिमिनल गेटअपले फिल्मप्रति कौतुहलता सृजना गर्दा स्वर्गीय रोजी महर्जनको हत्याकाण्डबाट प्रेरित रहेको भन्दै केही समय विवादमा पनि तानियो ।
अन्ततः 'रोजी' टाइटलमा छायांकन सकिएको फिल्मको नाम रिलिजको अन्तिम समयमा आएर 'रोज' राखियो । सस्पेन्स-क्राइम-थ्रीलर जनराको यस फिल्म अभिनेता प्रदीपको करिअरको सबैभन्दा अलग फिल्म हो । यसअघि यो जनरासँग उनको ३६ को आँकडा थियो ।
हरेक फिल्ममा हिरोइनको अघिपछि दौडिएका उनले पहिलो पटक अपराधीको भूमिका निभाएका छन् । आफ्नो प्रेमिकाको हत्या गर्न एक प्रेमी कसरी विवश हुन्छ भन्ने कथा फिल्मले वाचन गरेको छ ।
 (3)(1)(1).jpg)
सम्भवतः नेपाली फिल्म इतिहासमा यो कथामा फिल्म निर्माण भएका छैनन् । समाजमा दिनहुँ घटिरहेको घट्नालाई फिल्मले सटिक ढंगबाट उठाएको छ । तर, कथा नयाँ भएपनि प्रस्तुती सबैभन्दा फितलो छ ।
'रोज' लाई प्रदीपका 'हाईहार्ट फ्यान' ले उत्कृष्ट भनेका छन्, तर दर्शकको एक ठूलो वर्गले अपेक्षाअनुसार नबनेको प्रतिक्रिया जनाएका छन् । धेरैले उक्त फिल्मलाई प्रदीपको गलत छनौट समेत भनेका छन् ।
उनी भने पहिलो पटक फरक भूमिका प्रयोग गर्न पाएकोमा दंग छन् । शनिबार दर्शक प्रतिक्रिया बुझ्न गोपीकृष्ण हल पुग्दा उनले सञ्चारकर्मीसँग फिल्मलाई लिएर भएको असन्तुष्टिको विषयमा मुख खोले ।
उनले आफू अब चकलेटी हिरो भएर मात्र बस्न नचाहने बताए । 'मलाई केही फरक प्रयोग गरौँ भन्ने थियो । दर्शकको चाहना पनि त केही फरक भूमिकामा हेर्न चाहने थियो । 'रोज' मा निभाएको भूमिकाप्रति मलाई कुनै पश्चताप छैन', उनले भने ।
उक्त फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । अभिनेत्री परमिता आरएल राणा र मिरुना मगर प्रदीपको अपोजिटमा छन् । अभिनेता कर्मा शाक्यले डिएसपीको भूमिका निभाएका छन् । यो फिल्मबाट अहिले अभिनेत्री मिरुनाको कामको प्रशंसा भइरहेको छ ।

