Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ भर्सेज ‘जय भोले’ : ‘मेरो गोरुको बाह्रै टक्का’

फिल्मीखबर, काठमाण्डौ, 2018/09/09
अचेल नेपाली फिल्मले सोलो रिलिज पाउनु लगभग दुर्लभ भइसक्यो । अहिले हरेक हप्ता दुई वा तीन फिल्म हल छिर्ने गरेका छन् । कहिलेकाहिं 'इगो' भावनाले ठूला ब्यानरका मल्टिस्टारर फिल्म एकसाथ जुध्दा त्यसले सिनेवृतमा ठूलै तरंग ल्याउने गरेको छ । 
 
ताजा उदाहरण शुक्रवारबाट प्रदर्शनमा आएका 'रोज' र 'रामकहानी' हुन् । यस्तै, यस वर्षको दशैँमा पनि दुई ठूला ब्यानरका प्रतिक्षीत फिल्म प्रदर्शनमा आउँदैछन् । 'छक्का पञ्जा ३' र 'जय भोले' दशैँ रिलिज फिल्म हुन् ।
 
रोचक कुरा त यी दुई फिल्मले अहिलेसम्म आधिकारिक रुपमा प्रदर्शन मिति तोकेका छैनन् । आश्विन शुक्ल प्रतिपदाका दिनबाट दशैँ सुरु हुन्छ । दश दिनसम्म हुने दशैँको कुन दिन 'छक्का पञ्जा ३' र 'जय भोले' प्रदर्शनमा आउँछन् अहिलेसम्म अत्तोपत्तो छैन । 
 
दुबै फिल्मका मेकर्स एकअर्काको मुखामुख गरेर बसेका छन् । 'छक्का पञ्जा' का दुई सिरिज दशैँको फूलपातीमा प्रदर्शनमा आएका थिए । तेस्रो सिरिज पनि यही दिनमा आउने प्रवल सम्भावना छ । तर, निर्माण टिमले कन्फर्म गरेको छैन । 
 
 
उता बिहीवार १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले 'जय भोले' को ट्रेलर सार्वजनिक गरे तर प्रदर्शन मिति राखेनन् । ट्रेलरमा लेखिएको छ, 'यसपालीको दशैँ 'जय भोले' सँगै ।' तर, दशैँको कुन दिन ? निर्देशक शर्मा भन्छन्, ‘घटस्थापनादेखि पूर्णिमासम्म घाम लाग्ने राम्रो दिन हेरेर रिलिज गर्छौँ ।’
 
'जय भोले' ले गीतसँगै ट्रेलरमा पनि प्रदर्शन मिति नराख्दा अहिले 'छक्का पञ्जा' टिममाथि ठूलो तनाब आइपरेको छ । सकभर दीपकराज गिरी र दीपाश्री निरौला उक्त फिल्मसँग 'छक्का पञ्जा ३' जुधाउने मनस्थितिमा छैनन् । तर, निर्देशक शर्मा 'छक्का पञ्जा ३' सँग 'जय भोले' जुधाउने पूर्ण तयारीमा छन् । 
 
हुनत, उनी आफूले जुधाउनका लागि फिल्म नबनाएको बताउँछन् । सिनेवृतमा 'छक्का पञ्जा ३' लाई असर पुर्‍याउनकै लागि निर्देशक शर्माले 'जय भोले' बनाएको चर्चा छ । यसको प्रमुख कारण गएको वर्ष शर्माको कम्पनी डिसिएनले 'छक्का पञ्जा २' वितरण गर्न नपाउनुलाई मानिएको छ । 
 
आफ्नो फिल्मलाई सहज रुपमा प्रदर्शन गर्न उनले राजधानी भित्र र बाहिरका दर्जन बढी मेजर हलहरुसँग कागजी सम्झौता नै गरेका छन् । यसले 'छक्का पञ्जा' टिमको निन्द्रा हराम नगर्ने त कुरै भएन । यही कारण 'छक्का पञ्जा ३' ले प्रदर्शन मिति घोषणा गर्न हतार नगरेको खबर छ । 
 
निर्देशक शर्मा र 'छक्का पञ्जा' सिरिजका निर्माता, कलाकार तथा लेखक दीपकराजबीच दुई फिल्मको प्रदर्शन मितिलाई लिएर धेरैपटक 'टेवुल टक' भएको छ । तर, दुबै मेकर्स ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर अड्डि कसेर बसेका छन् । 
 
अब केही दिनमा 'छक्का पञ्जा ३' को ट्रेलर सार्वजनिक हुँदैछ । यो फिल्मले दशैँको कुन दिन रोज्नेछ ? धेरैलाई चासो छ । कतै 'दशैँको दिन 'छक्का पञ्जा ३' स्लोगन ट्रेलरमा झुण्डिने त होइन ? 
Most Visited News (monthly)