Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामकहानी’ लाई तीन पर्दा दिन गोपीकृष्ण तयार, तर नलाग्ने !

फिल्मीखबर, काठमाण्डौ, 2018/09/07
निर्माताले राम्रो सेयर हात पार्ने चाबहिलस्थित गोपीकृष्ण मुभिजमा शुक्रवारे रिलिज फिल्म ‘रामकहानी’ लागेको छैन । ३ सय सिट संख्याको नमः हल दिने भएपछि बिहीवार साँझ निर्माताले गोपीकृष्णमा फिल्म नलगाउने घोषणा गरेका थिए । 
 
बिहीवार दिउँसोसम्म दुई ठूला पर्दा गोपी र कृष्णमध्ये एक हल दिने सहमती भएपछि फिल्मको ब्यानर भित्तामा टाँगिएको थियो । तर, साँझ सानो हल मात्र दिने भएपछि वितरक सुनिल मानन्धरले फिल्म उतारेर फर्किएका थिए । 
 
गोपीकृष्णमा फिल्म नलाग्ने खबरले मिडियामा विशेष स्थान पाएसँगै ‘रामकहानी’ टिमले गलत प्रचार गरेको भन्दै गोपीकृष्ण कम्पनीले एक विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
 
गोपीकृष्ण मुभिज प्रा.लि.का कार्यकारी निर्देशक तथा फिल्म 'रोज' का निर्देशक निरक पौडेलद्वारा जारी विज्ञप्तीमा ‘रामकहानी’ लाई ओम, नमः र शिवाय गरि ३ ओटा हल उपलब्ध गराउने प्रतिवद्धता भएको उल्लेख छ । 
 
 
'फिल्ममा दर्शकहरुको चाप बढेको खण्डमा गोपी र कृष्ण हल समेत थपिदिने प्रतिवद्धता पनि जनाईसकिएको छ । 'रामकहानी' लाई प्रदर्शन नगर्ने सोच भएको भए फिल्मको ब्यानर गोपीकृष्ण मुभिजमा लाग्ने नै थिएन', विज्ञप्तीमा भनिएको छ ।
 
‘रामकहानी’ टिमलाई आवश्यक परेको खण्डमा गोपीकृष्ण मुभिज सहयोगका लागि सदैव तयार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गोपीकृष्णले तीन साना पर्दा दिन तयार भएपनि ‘रामकहानी’ टिम फिल्म नलगाउने निर्णयमा छ । 
 
वितरक मानन्धरले फिल्मीखबरसँग कुराकानी गर्दै दुई ठूला पर्दा अर्थात् मल्टिप्लेक्समा रुपान्तरण भएको गोपी र कृष्ण दिएमात्र फिल्म लगाउने बताए । वितरक मानन्धर र गोपीकृष्ण कम्पनीबीच पर्दा बाँडफाँडलाई लिएर शुक्रवार बिहान पनि छलफल भएको थियो । 
 
अब गोपीकृष्णमा फिल्म ‘रामकहानी’ शनिवार पनि नलाग्ने लगभग पक्का भएको छ । सो प्रतिष्ठित कम्पनीले ‘रामकहानी’ लाई ठूलो हल नदिनुको कारण आफ्नो ब्यानरको फिल्म 'रोज' हो । दर्शकमाझ व्यग्र प्रतिक्षामा रहेको फिल्म नलाग्नु हल सञ्चालक र निर्माता दुबैलाई घाटा हो । 
Most Visited News (monthly)