गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' बाट रातारात चम्किएकी अभिनेत्री हुन् जसिता गुरुङ । उनको अभिनय, सुन्दरता र डाइलग डेलिभरीको सबैभन्दा बढी प्रशंसा भएको थियो । यस वर्ष उनलाई नव-अभिनेत्रीको अवार्ड कुनै छुटेको छैन ।
डेब्यु फिल्म रिलिज लगत्तै अध्ययनका लागि लण्डन उडेकी जसिता पुनः नेपाल फर्किएकी छन् । उनी दोस्रो पटक युवा स्टार प्रदीप खड्कासँग फिल्म 'लभ स्टेशन' मा काम गर्दैछिन् । 'लिलिबिली' मा दुईको जोडीलाई सर्वाधिक रुचाइएको थियो ।
प्रदीपको आग्रहमा उनी दोस्रो पटक सँगै काम गर्न राजी भएको खबर छ । यो कपल 'लिलिबिली' को बेलादेखि प्रेममा रहेको चर्चा छ । अहिले जसिता फिल्मको वर्कसपमा व्यस्त छिन् । भेट्रोन निर्देशक उज्जवल घिमिरेले यसको निर्देशन गर्दैछन् ।
(1)(1).jpg)
'लभ स्टेशन' का लागि अझै एक नायिकाको खोजी भइरहेको छ । स्रोतका अनुसार, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग छलफल भइरहेको छ । निर्देशक घिमिरेले यसै साता दोस्रो नायिका फाइनल हुने बताए ।
काफिया फिल्मस्ले निर्माण गर्ने उक्त फिल्मको छायांकन सिक्किम र दाजर्लिङमा हुँदैछ । निर्देशक घिमिरेका अनुसार, भदौ अन्तिमबाट फिल्मको सुटिङ सुरु हुनेछ । फिल्म लभस्टोरी जनरामा निर्माण हुन लागेको हो ।
यो फिल्मको प्रदर्शन मिति फ्लोरमा निस्कनु अगावै फागुन २४ गतेलाई तय गरिएको छ । सुवास सिंह बस्नेतको कथा रहेको 'लभ स्टेशन' मा अभिनेता प्रदीप पनि निर्माताको रुपमा रहनेछन् ।

