शुक्रवारबाट युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोज’ ले देशभरका कूल ९५ हलबाट प्रदर्शन आरम्भ गरेको छ । मल्टिप्लेक्समा उच्च शोज पाएको उक्त फिल्म सस्पेन्स-क्राइम-थ्रीलर जनरामा निर्माण भएको छ ।
.jpg)
पाइलट बन्नका लागि अध्ययन गरिरहेको एक युवकको प्रेम जीवनमा आउने उतारचढावको कथा फिल्मले वाचन गरेको छ । प्रदीपको अपोजिटमा अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगर छन् ।
चकलेटी ब्वाई प्रदीपको फरक गेटअप र रोजी महर्जनको हत्या प्रकरणबाट प्रेरित रहेको चर्चाले फिल्मप्रति जो कोहीको नजर निर्माण अगावैदेखि अडिएको थियो । शुक्रवार बिहान फिल्मको ओपनिङ अकुपेन्सी ४० प्रतिशतको आसपास छ ।
.jpg)
शुक्रवार राजधानीको बिग मुभिजमा निर्माण टिमले स्पेशल शो राखेको थियो । फिल्मका निर्माता, निर्देशक र कलाकारसँगै पत्रकारहरुको बाक्लो उपस्थिति थियो । अधिकांशले अभिनेत्री मिरुना मगरको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
वकिलको भूमिका निर्वाहा गरेकी उनको सुन्दरता, अभिनय र डाइलग डेलिभरी उम्दा छ । 'लालपूर्जा' बाट अभिनयमा डेब्यु गरेकी उनलाई अझै केही मिहिनेत गरेको खण्डमा नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछ ।
.jpg)
प्रस्तुती फितलो भएपनि ‘रोज’ को कथावस्तु नयाँ छ । आफ्नै प्रेमिकाको हत्या गर्न एक प्रेमि कसरी विवश हुन्छ भन्ने कुरा फिल्मले देखाउन खोजेको छ । पछिल्लो समय समाजमा घटिरहेका घट्नालाई फिल्ममा सटिक ढंगबाट उतार्न खोजिएको छ ।
फिल्म हेर्न पुगेका रोजी महर्जनका पिता गोबिन्द महर्जनले छोरीको हत्या प्रकरणसँग फिल्म नमिलेको बताए । 'नाम मिलेको थियो । हाम्रो आग्रहमा निर्माता/निर्देशकले नाम परिवर्तन गर्नुभयो । अदालतका केही दृश्यहरु मिलेका छन् । बाँकीमा हाम्रो दुखेसो छैन', उनले भने ।
.jpg)
नीरक पौडेल निर्देशित १ घण्टा ३० मिनेटको ‘रोज’ मा प्रदीपको अभिनय र फरक लुक्स जबर्जस्त छ । अभिनेत्री परमिता आफ्नो भूमिकामा फिट छिन् । डिएसपीको भूमिकामा रहेका अभिनेता कर्माको काम पनि उत्कृष्ट छ ।

