दर्शकको सर्वाधिक चाप रहने चाबहिलस्थित गोपीकृष्ण हलमा वर्षको प्रतिक्षीत फिल्म ‘रामकहानी’ नलाग्ने भएको छ । पर्दा बाँडफाँडमा विवाद उत्पन्न भएपछि वितरक सुनिल मानन्धरले गोपीबाहेक देशका सबै हलमा फिल्म लाग्ने जानकारी दिए ।
बिहीवार दिउँसोसम्म ३ हजार बढी दर्शक क्षमता रहेको गोपीको दुई पर्दा गोपी र कृष्णमध्ये एक हल ‘रामकहानी’ लाई दिने सहमती भएको थियो । तर, भित्तामा फिल्मको ब्यानर टाँगिएपछि २ सय सिट क्षमताको नमः दिने भएपछि फिल्म नलगाउने निर्णयमा निर्माण टिम पुगेको हो ।
गोपीकृष्णले ‘रामकहानी’ लाई ठूलो हल नदिनुको पछाडि आफ्नै ब्यानरको फिल्म 'रोज' हो । दुबै फिल्म शुक्रवार प्रदर्शनमा आउँदैछन् । गोपीकृष्णले आफ्नो फिल्मलाई काखा र अरु फिल्मलाई पाखा गरेको यो पहिलो पटक भने पक्कै होइन् । यसअघि पनि धेरै निर्माताले यो हैरानी खेपेका छन् ।
.jpg)
‘रामकहानी’ वितरक मानन्धर भन्छन्, 'दर्शकलाई दुबै फिल्मको प्रतिक्षा छ । आफ्नो फिल्म छ भनेर अरु फिल्ममाथि अत्याचार गर्नु कति जायज हो ? भिड्न डराउनेले किन फिल्म रिलिज गर्न आँट गर्नु ?' उनले ‘रामकहानी’ गोपीकृष्णमा नलागेपनि घाटा नहुने बताए ।
फिल्मीखबरसँगको टेलिफोन वार्तामा गोपीकृष्ण मुभिजका म्यानेजर प्रदीप दाहालले 'रामकहानी' लाई हल नदिनुको कारणबारे बोल्न चाहेनन् । उनले भने, 'यस विषयमा म केही बोल्न चाहन्नँ । सरी ।'
दर्शकमाझ व्यग्र प्रतिक्षा भइरहेको फिल्म नलाग्नु हल सञ्चालक र निर्माता दुबैलाई घाटा हो । गोपीकृष्णबाट निर्माताले सर्वाधिक सेयर हात पार्ने गरेका छन् । तर, 'इगो' भावनाले यस्ता घट्नाहरु पटक-पटक घटिरहेको छ ।
‘रामकहानी’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठका अलावा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय छ ।
गीतसंगीत र ट्रेलरले राम्रो हाइप बनाएका कारण फिल्मको इनिसियल व्यापार आक्रामक हुने आँकलन गरिएको छ । यो लभस्टोरी-कमेडी जनराको फिल्म हो ।

