Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.75/5.00)
Text size:-
+
-

मलाई ‘स्टार’ बन्नु छैनँ : प्रदीप खड्का

फिल्मीखबर, काठमाण्डौ, 2018/09/06
 
'प्रेमगीत' अगाडिका गुमनाम चहेरा हुन् प्रदीप खड्का । फिल्म 'स्केप' बाट अभिनय यात्राको मुहूर्त गरे । आफ्नै लगानीमा 'ठूलो मान्छे' नामक फिल्म बनाए । तर, न अभिनयमा उनको वाहवाही भयो न त निर्मातामा नै नाम कमाए । 
 
कलाकार र निर्माताको रुपमा 'हातमा लाग्यो शून्य' हुँदा उनले प्रण गरे, 'अब विदेश उड्छु ।' अष्ट्रेलियाको भिषा पनि लाग्यो । मनमा अभिनयको हुटुहुटी हुँदाहुँदै उनी परिवार र आफ्नो सपना पूरा गर्न लगेजमा कपडा पट्याउन थाले । 
 
सोही बेला उनका लागि निर्देशक सुदर्शन थापा गडफादर बनेर आए । उनलाई फिल्म 'प्रेमगीत' अप्रोज भयो । परिवारले विदेश जान गरेको चर्को दबाबले उनी उक्त फिल्म गर्ने वा नगर्ने दोधारमा परेका थिए । अन्ततः परिवारसँग अन्तिम मौका माग्दै उनी 'प्रेमगीत' मा अनुबन्ध भए । 
 
 
सो फिल्म सन् २०१६ मा हलमा लाग्यो । अन्य दुई ठूला फिल्म जुध्दा उक्त फिल्म बक्सअफिसमा असफल भयो । तर, दर्शक र समीक्षकको नजरमा उत्कृष्ट ठहरियो । यसमा प्रदीपको जोडी अहिलेकी 'हटकेक' पूजा शर्मासँग बाँधिएको थियो । 
 
यो फिल्मपछि प्रदीपले करिअर फर्किएर हेर्नु परेको छैन । 'प्रेमगीत २' र 'लिलिबिली' हुँदै उनी अभिनीत नयाँ फिल्म 'रोज' शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । मिडिया र दर्शकले उनलाई अहिले अभिनेता अनमोल केसीको प्रतिस्पर्धी अभिनेता भन्ने गरेका छन् । 
 
सर्वाधिक डिमाण्ड र लोभलाग्दो फ्यान फलोइंगका धनी यी चकलेटी हिरो नेपालका सबैभन्दा महंगा अभिनेतामा दरिन्छन् । अचेल उनलाई ५० लाख पारिश्रमिकसहित धेरै फिल्मबाट अफर आइरहेका छन् । तर, पैसाका लागि कहिल्यै फिल्म नगर्ने निर्णयमा उनी अडिक भएर बसेका छन् । 
 
 
केही महिनायता उनले लगालग फिल्म साइन गरिरहेका छन् । अब उनले गर्ने फिल्म 'लभ स्टेशन', 'भैरवी' र 'प्रेमगीत ३' हुन् । उनीमाथि अहिले पैसामुखी भएको आरोप पनि खुब लाग्न थालेको छ । फिल्मीखबरसँगको कुराकानीमा उनी भन्छन्, 'राम्रो कथा आयो तर पैसामा कुरा मिलेन भने सित्तैमा पनि फिल्म गर्न तयार छु ।'
 
राम्रो फिल्मको आफू भोको रहेको उनले बताए । 'संख्या बढाउन र पैसा कमाउन होइन म आफू जोगिन फिल्म गर्छु । मेरो लागि महिनामा ५/६ लाख कमाउनु पनि ठूलो कुरा हो । मेरा धेरै ठूला सपना छैनन् । निकै मिहिनेतले यो स्थानसम्म आइपुगेको हुँ । आफू जोगिएर काम गर्न चाहन्छु', उनले भने । 
 
पारिश्रमिकमा अनमोलसँग प्रतिस्पर्धा हो ? प्रदीप जवाफमा भन्छन्, 'खुसी लाग्छ एउटा कलाकारलाई ५० लाखसम्म डिमाण्ड हुन्छ । अनमोल राम्रो कलाकार हो । उसबाट मैले धेरै कुरा सिक्न पाएको छु । तर, पारिश्रमिकमा मेरो कसैसँग प्रतिस्पर्धा छैन ।' उनले आफूले कहिले पारिश्रमिकलाई लिएर 'डिल' नगरेको स्पष्ट पारे । 
 
 
'रोज' मा एक अपराधीको भूमिका निर्वाहा गरेका उनले पहिलो पटक फरक भूमिका निर्वाहा गर्नु आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताए । कथावस्तु फरक लागेका कारण काम गर्न राजी भएको बताउँदै उनी भन्छन्, 'करिअरले गति लिएको अवस्थामा नै यो जनराको फिल्म गर्नुपर्छ भन्ने लागेर चुनौती मोलेको हुँ । फिल्मको जस्तो नतिजा आएपनि मेरो लागि स्विकार्य छ ।' 
 
केही वर्षयता उनलाई दर्शक र मिडियाले 'स्टार' अभिनेताको ट्याग दिएका छन् । कति बोझिलो हुन्छ यो ट्याग ? पत्रकारको प्रश्नमा प्रदीप गहकिलो उत्तर दिन्छन् ।
 
आफूले कहिले ट्यागका लागि काम नगरेको उनको भनाई छ । भने, 'म कलाकारको रुपमा चिनिन चाहन्छु । दर्शक र मिडियाले दिनुभएको ट्यागलाई सम्मान गर्छु । मलाई 'स्टार' होइन एउटा राम्रो कलाकार बन्नु छ ।' 
 
 
उनले आफू अभिनीत फिल्म 'रोज' सँग एकसाथ प्रदर्शनमा आउन लागेको अभिनेत्री पूजा शर्माको फिल्म 'रामकहानी' लाई पनि सफलताको शुभकामना दिए । 'सुदर्शन थापाले बनाउनुभएको फिल्म नराम्रो हुँदैन' उनले भने, 'मलाई विश्वास छ दुबै फिल्म राम्रो चल्छ ।' 
 
नीरक पौडेल निर्देशित फिल्म 'रोज' मा उनले अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगरसँग रोमान्स गरेका छन् । अभिनेता कर्मा शाक्यको पनि फिल्ममा लिड रोल छ । उक्त फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ ।  
Most Visited News (monthly)