केही समययता अभिनेत्री द्वय बर्षा राउत र बर्षा सिवाकोटीबीच शितयुद्ध चलिरहेको छ । प्रतिस्पर्धी अभिनेत्री मानिने दुई बर्षाको दुई फिल्ममा भएको 'इन र आउट' को खेलले अहिले दुबैबीचको सम्बन्ध ३६ को आँकडामा छ ।
फिल्म 'मेरो पैसा खोई ?' बाट यी दुईबीच दुश्मनीको सुरुवात भएको थियो । अभिनेत्री राउतले उक्त फिल्म साइन गरेपछि अर्की अभिनेत्री सिवाकोटीले हात झिकेकी थिइन् । हालै 'पशुपतिप्रसाद' फेम्ड अभिनेत्रीले साइन गरेको फिल्म 'गोपी' छाडिन् ।
फिल्मबाट विदा भएको २४ घण्टामा उनकै ठाउँमा अभिनेत्री राउत भित्रिइन् । एक अन्तर्वार्तामा सिवाकोटीले आफूले फिल्म छाड्दा अरुले काम पाएको भन्दै राउतमाथि व्यंग्य गरेकी थिइन् । राउतले व्यंग्यको उत्तर 'धन्यवाद' मा फर्काइन् ।

तश्बिर : कान्तिपुर
दुई बर्षाको टकराव शान्त नहुँदै एक मेकर्सले दुबैलाई लिएर फिल्म निर्माण गर्ने तयारी थालेका छन् । सञ्चारकर्मी प्रकाश सुवेदीले दुई अभिनेत्रीलाई फिल्म ‘बकम्फुसे राजा’ अफर गरेका छन् । तर, दुबै फिल्ममा अनुबन्ध नभइसकेको सुवेदीले बताए ।
राउतले फिल्म गर्ने पक्का भएपछि सिवाकोटीले हात झिकेको गाइँगुइँ चर्चा छ । फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका निर्देशक सुवेदी यो कुरामा सत्यता नभएको बताउँछन् । 'दुई बर्षालाई फिल्म अफर गरिएको सत्य हो तर अझै फाइनल भएको छैन र कोही 'इन र आइट' भएको छैन', उनले भने ।
उनका अनुसार, अर्को हप्ताभित्र कलाकारको टुंगो लाग्ने छ । सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको यस ‘बकम्फुसे राजा’ मा गणेश सुवेदीको लगानी रहनेछ । विष्णु कल्पितले खिच्ने फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् ।

