ऋषि धमला – चिन्नका लागि नामै काफी छ । युवा पुस्तादेखि बृद्धबृद्धासम्म टेलिभिजन हेर्नेले धमलालाई सजिलै चिन्दछन् । अब उनको परिचय पत्रकारमा मात्र सिमित रहेन । फिल्म निर्माता पनि बनेका छन् ।
असोज १२ गते उनी निर्मित फिल्म 'अनुराग' प्रदर्शनमा आउँदैछ । यस फिल्मबाट उनकी श्रीमती एलिजा गौतम (धमला) ले डेब्यु गरेकी छन् । पत्रकार धमलाले श्रीमतीको सपना पूरा गर्न फिल्म निर्माणमा होमिएको बताए ।
सोमवार पुतलिसडकको एक रेस्टुराँमा श्रीमतीसँग भेटिएका उनले भने, 'एलिजासँग मेरो विवाह नभएको भए फिल्म निर्माण गर्दिन थिएँ । उनमा अभिनय गर्ने क्षमता देखेर लगानी गर्न तयार भएको हुँ ।' उनले फिल्म 'अनुराग' ले दर्शकलाई निराश नबनाउने दाबी गरे ।

स्क्रिप्ट चित्त बुझेपछि फिल्म निर्माण गर्न आफूले स्विकृति दिएको उनी बताउँछन् । 'विवाहपछि फिल्ममा आउने अभिनेत्रीहरु निकै कम छन्' पत्रकारको प्रश्नको जवाफ दिँदै उनी भन्छन्, 'एलिजा त दुई सन्तानकी समेत आमा हुन् । आमा भएर पनि फिल्ममा सक्रिय हुने अठोट लिएपछि मैले उनलाई साथ नदिने त कुरै हुँदैन ।'
निर्माता धमलाले 'अनुराग' सफल भए फिल्म निर्माणमा सक्रिय रहने बताए । नव-अभिनेत्री एलिजाले श्रीमानको साथ र सहयोगकै कारण आफूलाई फिल्ममा आउन आत्मबल मिलेको बताइन् । डेब्यु फिल्मको नतिजा जस्तो आएपनि आफ्नो फिल्मी यात्रा नरोकिने उनको भनाई छ ।
सानैदेखि फिल्ममा काम गर्ने रहेर पालेर बसेकी उनको २१ वर्षको उमेरमा पत्रकार धमलासँग विवाह भएको थियो । एलिजाले फिल्म 'अनुराग' मा आफ्नो र ऋषि धमलावीचको प्रेम पनि मिसाएको खुलाइन् । 'केही प्रतिशत मेरो रियल लाइफका किस्साहरु पनि फिल्ममा अटाइएको छ', उनले भनिन् ।
सांगीतिक प्रेमकथामा निर्मित 'अनुराग' लाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । उक्त फिल्ममा एलिजाको जोडी समुन्द्र पण्डितसँग बाँधिएको छ । उनको पनि यो डेब्यु फिल्म हो ।

