स्टारडम र रेकर्ड ब्रेक फिल्मका कारण सुपरस्टार अनमोल केसी सर्वाधिक खोजिने र चासो दिइने नेपाली अभिनेता पर्दछन् । फिल्म छनौटमा चुजी यी चकलेटी अभिनेता वर्षमा एकभन्दा बढी फिल्म गर्दैनन् ।
गएको ५ वर्षमा उनका ५ वटा मात्र फिल्म प्रदर्शनमा आए । 'होस्टल', 'जेरी', 'ड्रिम्स', 'गाजलु' र 'कृ' हालसम्म उनले अभिनय गरेका फिल्म हुन् । यी कुनै पनि बक्सअफिसमा असफल भएनन् ।
(1).jpg)
लगातार हिट फिल्म आफ्नो खातामा जोड्न सफल उनी अहिलेका सर्वाधिक महंगा अभिनेता समेत हुन् । एक फिल्मबापत ५० लाख बढी पारिश्रमिक बुझ्ने अनमोलले हालै छैटौं प्रोजेक्ट 'क्याप्टेन' को छायांकन सकेका छन् ।
यस लगत्तै उनले 'ए मेरो हजुर ३' को सुटिङ ज्वाइन गरिसकेका छन् । शनिवार पोखरामा फिल्मको शुभ साइत गर्दै 'अनमोल इभ' का केही दृश्य पनि कैद गरिएको छ । फिल्मको औपचारिक रुपमा क्यामेरा अन भने असोज पहिलो साताबाट हुनेछ ।
निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले उक्त फिल्मबाट लिड रोलमा डेब्यु गर्दैछिन् । फ्लोरमा निस्कनु अगावै यस फिल्मको प्रदर्शन मिति यस वर्षको चैत २९ लाई पक्का गरिएको छ ।
'ए मेरो हजुर ३' को लागि तयारी सुरु गर्दैगर्दा अभिनेता अनमोल केसीलाई ठूलो फसाद आइपरेको छ । उनको आठौं प्रोक्जेक्ट 'ब्याचलर बन्टी' को पनि सुटिङ डेट र प्रदर्शन मिति घोषणा गरिएको छ ।
रोचक कुरा के छ भने दुई फिल्मको छायांकन सेड्युल जुधेको छ । 'ब्याचलर बन्टी' को सुटिङ असोज ३० गतेबाट आरम्भ हुने भएको छ । अब अनमोलले 'ए मेरो हजुर ३' सँगै उक्त फिल्मको सुटिङ सेट लगभग एकै समयमा ज्वाइन गर्नुपर्ने भएको छ ।
निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो आधिकारिक फेसबुकमार्फत् फिल्मको प्रदर्शन मिति फागुन १७ गतेलाई तय गरेको बताएका छन् । सुटिङ सेड्युल त जुध्यो-जुध्यो अब दुई फिल्म एक महिनाको अन्तरमा रिलिज हुने भएका छन् ।
.jpg)
उता फिल्म 'क्याप्टेन' कात्तिक १६ गते आउने तरखरमा छ । यसो हुँदा यस वर्ष अनमोलका तीन फिल्म हलमा लाग्नेछन् त्यो पनि महिनाको गन्तीले निकै कम समयमा ।
'क्याप्टेन' र 'ब्याचलर बन्टी' को रिलिज ग्याप लगभग ३ महिनाको हुनेछ भने 'ब्याचलर बन्टी' रिलिजको एक महिनामा 'ए मेरो हजुर ३' प्रदर्शनमा आउनेछ । योभन्दा ठूलो फसाद अनमोलका लागि अरु के होला ?
उनले केही समय अगाडि निर्धक्क भनेका थिए, 'मैले साइन गरेका फिल्म एकसाथ आउँदैनन् । ६ महिनाको ग्याप रहनेछ ।' अब उनलाई आफ्नै बोली निल्नु न ओकल्नु भएको छ ।
निर्माता-निर्माताबीचको व्यवसायिक द्वन्द्वमा अहिले अनमोल नराम्रोसँग फसेका छन् । वर्षमा एक वा दुई फिल्म लिएर आउने निर्णयमा अडिक भएर बसेका उनलाई अब निर्माताले महिनैपिच्छे पर्दामा ल्याउने तयारी गरिरहेका छन् ।
यो रणनीतिमा अनमोलले आफूलाई कुन रुपमा प्रस्तुत गर्छन् ? त्यो सबैभन्दा चाखपूर्ण रहनेछ । यदी यस वर्ष उनका तीन फिल्म प्रदर्शनमा आएको खण्डमा अनमोलको चम्किलो स्टारडमलाई ठूलो धक्का पुग्ने पक्का छ ।

