फिल्ममा काम गरेपछि आफ्नो धर्म सकिएको ठान्ने नेपाली कलाकारहरुको पुरानै बानी हो । फिल्मको सुटिङ भ्याएपछि प्रचारमा निर्माता/निर्देशकले कलाकारको अनुहार समेत देख्न पाउँदैनन् । यो बढी स्टार कलाकारको हकमा लागू हुन्छ ।
अभिनेत्री प्रियंका कार्की पनि यो भिडकी एक सदस्य हुन् । ठूला ब्यानर भए उनी प्रचार-प्रसारमा जति पनि समय निकाल्न भ्याउँछिन् तर नयाँ टिमको भए उनको अनुहार देख्नु नै निर्माता/निर्देशकलाई ठूलो कुरा हुन्छ ।
असोज १२ गते उनी अभिनीत नयाँ फिल्म ‘कथा काठमाण्डू’ प्रदर्शनमा आउँदैछ । यो फिल्मको ‘रातको कुरा...’ बोलको गीतमा अभिनेता प्रमोद अग्रहरीसँगको इन्टिमेट सिनका कारण उनको अहिले चर्को आलोचना भइरहेको छ ।
आइतवार उक्त फिल्मको एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा पनि प्रियंका र प्रमोदको इन्टिमेट सिन भरपूर छ । अभिनेता आयुष्मान देशराज जोशीसँग दुई पटक इन्गेजमेन्ट गरिसकेकी उनलाई गीतले आलोचनाको पात्र बनाइरहँदा ट्रेलरले पनि उम्कन दिने ठाउँ बाँकी राखेको छैन ।
यो फिल्ममा आयुष्मान पनि लिड रोलमा छन् तर उनको जोडी प्रियंकासँग बाँधिएको छैन । यही फिल्मको सेटबाट उनीहरुले एकअर्कासँग नजिक हुने मौका पाएका थिए । रोचक कुरा त उक्त फिल्मको सुटिङ सकिएपछि दुई पटक कार्यक्रम भयो । तर, रियल कपल उपस्थिति भएनन् ।
 (2)(1)(1).jpg)
गीत सार्वजनिक कार्यक्रममा प्रियंका अमेरिकामा थिइन् भने आयुष्मान नेपालमै थिए । आइतवार सार्वजनिक गरिएको ट्रेलर रिलिज कार्यक्रममा दुवै नेपालमा थिए । तर, उनीहरु दोस्रो पटक पनि आफू अभिनीत फिल्मको कार्यक्रममा पुगेनन् ।
गीतबाट चर्को आलोचना खेपेपछि अहिले प्रियंका ‘कथा काठमाण्डू’ को नाम समेत सुन्न चाहिरहेकी छैनन् । सामाजिक सञ्जालमा सक्रिय रहने यी अभिनेत्रीले न इन्टाग्राम न त फेसबुकमा नै फिल्मको गीत शेयर गरेकी छन् । गीत त टाढाको कुरा उनले पोस्टर समेत शेयर गरेकी छैनन् । न त आयुष्मानले नै ।
यसबाट प्रष्ट हुन्छ कि प्रियंका यस फिल्मबाट टाढै रहन खोजिरहेकी छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा प्रियंका उपस्थित नभएपछि निर्देशक संगीत श्रेष्ठमाथि पत्रकारले अनेकन प्रश्न गरे । उनले फिल्मको विषयमा प्रियंकाले बोल्न नचाहनुको पछाडि मिडिया कारक तत्व रहेको बताइन् ।
उनले भने, 'मिडियाले गीतबारे अनेकौं सवाल खडा गरेपछि उनले त्यस विषयमा बोल्नु भनेको एउटा इट्टा थपिनु जस्तै हुने सम्झिएर सायद चुप बसेकी होलिन् ।' निर्देशकको यो कुरा आफैंमा हास्यास्पद छ ।
फिल्म साइन गर्दाखेरि नै एउटा कलाकारलाई आफ्नो भूमिकाको विषयमा सम्पूर्ण कुरा अवगत हुन्छ । आफूले इन्टिमेट सिन दिनुपर्छ भन्ने कुरा प्रियंका फिल्म साइन गर्दा नै स्पष्ट थिइन् । अब गीत बाहिर आएपछि आलोचना भयो भन्दैमा उभानो बस्न खोज्नु कति उचित होला ?
पब्लिक फिगर भएपछि ताली र गाली सामान्य हो । मिडियाले सवाल गर्नु अनौठो होइन । फिल्ममा निर्धक्क दिएको इन्टिमेट सिनको चर्को आलोचना भएपछि आफ्नो फिल्मसँग नै दूरी बढाउनु के एउटा कलाकारको बौद्धिकता हो ?
कतै प्रियंकालाई ‘कथा काठमाण्डू’ आफूले अभिनय गरेको फिल्म भन्न लज्जाबोध भएको त होइन ? यस विषयमा कुनै प्रतिक्रिया नआउँदासम्म उनमाथि दिनप्रतिदिन हजार सवाल जन्मिएर बस्ने पक्का छ ।

