गिनेचुनेका अभिनेतामा पर्दछन् प्रदीप खड्का । 'प्रेमगीत' पछि उनले आफ्नो करिअरलाई पछाडी फर्किएर हेर्नु परेको छैन । 'प्रेमगीत २' हुँदै पछिल्लो रिलिज फिल्म 'लिलिबिली' सम्म आइपुग्दा उनको चर्चासँगै डिमाण्ड पनि सर्वाधिक छ ।
फिल्म छनौटमा चुजी मानिने चकलेटी अनुहारका धनी प्रदीप उस्तै महंगा पनि छन् । अहिले उनलाई एक फिल्मबापत ५० लाखसम्म अफर आइरहेको छ । निर्माता/निर्देशकलाई लाग्छ उनलाई लिएपछि लगानी सुरक्षित गर्न तनाब खेप्नु पर्दैन ।
 (1)(3).jpg)
लोभलाग्दो फ्यान फ्लोइंगका कारण उनलाई फिल्म लिन चाहने फिल्ममेकर्सको भिड ठूलै छ । सर्वाधिक डिमाण्ड रहँदा एक कलाकारको पारिश्रमिक छोइनसक्नु हुनु अनौठो पक्कै होइन । तर, अहिले पैसाका लागि लगातार फिल्म साइन गरेको आलोचना प्रदीपले गजबले खेप्नु परेको छ ।
उनी भने राम्रो फिल्म निःशुल्क गर्न तयार रहेको बताउँछन् । भाद्र २२ गते उनी अभिनीत फिल्म 'रोज' रिलिज हुँदैछ । यसपछि पाइपलाइनमा 'लभ स्टेशन', 'भैरवी', 'प्रेमगीत ३' छ । खबरअनुसार, उनले ५० लाख पारिश्रमिकको एक फिल्म पनि साइन गरेका छन् ।
 (6).jpg)
अझै केही फिल्मको स्क्रिप्ट पनि पढिरहेका छन् । सम्भवतः चाँडै उनले नयाँ फिल्म साइन गर्ने स्रोत बताउँछन् । यसरी हेर्दा उनी अबको २ वर्षका लागि प्याक छन् । 'ब्याक टू ब्याक' फिल्म साइन गर्नुको कारक तत्व पैसा नै हो वा राम्रा फिल्म भएर हो ? यो भने उनलाई नै थाहा होला ।
अहिले प्रदीप प्रदर्शन कुरेर बसेको प्रतिक्षीत फिल्म 'रोज' को मोफसल दौडाहामा छन् । 'प्रेमगीत २' र 'लिलिबिली' को प्रचारका लागि उनले झण्डै डेढ महिना समय निकालेका थिए । तर, 'रोज' को हकमा त्यसो भएन । फिल्म रिलिज हुन अब मात्र ५ दिन बाँकी छ ।
 (4).jpg)
निर्माण टिमले हतारमा प्रदर्शन मिति घोषणा गर्दा अहिले फिल्मको सम्पादनको काम सक्न मात्र होइन प्रचारलाई आक्रामक बनाउन पनि उतिक्कै सकस भइरहेको छ । छोटो समयमा धेरैभन्दा धेरै दर्शकलाई फिल्मको विषयमा कसरी जानकारी दिने निर्माता/निर्देशकलाई भन्दा ठूलो चटारो प्रदीपलाई देखिन्छ ।
दुई पटक मोफसल टुर सकेका कारण दर्शकलाई फिल्मप्रति आकर्षित गर्ने गतिलो माध्यम रोड कन्सर्ट हुने उनलाई लाग्छ । 'रोज' को देशव्यापी टुरमा प्रदीपसँगै अभिनेत्री द्वय मिरुना मगर र परमिता आरएल राणा सहभागी छन् । 'फूल हैन...' फेम्ड गायक प्रदाप दास पनि टुरको अभिन्न अंगको रुपमा छन् ।
 (3).jpg)
बुटवल, पोखरा र नारायणगढमा सम्पन्न भइसकेको प्रमोसनल कन्सर्टमा प्रदीपको लोभलाग्दो क्रेज देखिएको थियो । उनलाई हेर्न १७-२५ वर्ष उमेर समुहका दर्शकहरुको ठूलै भिड लागेको थियो । प्रायः युवती फ्यानहरु बढी देखिएका थिए ।
तीन सहरमा भएको कन्सर्टमा प्रशंसकको साथ र मायाले खुशी भएको प्रदीपले बताए । उनी भन्छन्, 'दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउँदा आनन्द महशुस हुन्छ । हामीले उहाँहरुकै लागि फिल्म गर्ने हो । उहाँहरुको माया नै सबैभन्दा ठूलो सम्पत्ति हो ।'

उनले पोखरा पुग्दा एक अजिब फ्यान भेटेको सम्झिए । 'म ब्राण्ड एम्बेसडर रहेको ‘ब्राडफोड एजुकेशनल कन्सल्टेन्सी’ पुग्दा १२ घण्टाको यात्रा गरेर झापाबाट मलाई भेट्नकै लागि पोखरा पुग्नुभएको प्रमिला गैरे नामकी फ्यानलाई भेटेँ । मैले आजसम्म यस्तो फ्यान भेटेको थिइनँ', उनले भने ।
हुनत, प्रदीप जहाँ जान्छन् त्यहाँ कोही न कोही अजिब फ्यानसँग उनको भेट भएकै हुन्छ । शनिवार चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा भएको 'रोज' कन्सर्टमा पुग्दा उनलाई फ्यानबाट जोगाउन प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो ।
 (2)(1).jpg)
प्रतापले आफ्नो प्रस्तुति दिएपछि फिल्मका लिड अभिनेत्री द्वय मिरुना र परमिता फिल्मको विषयमा जानकारी दिन साँझले भित्रने संकेत गर्दैगर्दा स्टेज चढे । त्यसपछि प्रदीपले स्टेज चढ्दै फिल्मको डाइलग बोले, 'मैले उसलाई मारेको होइन मुक्ति दिएको । मलाई ऊबाट र उसलाई यो संसारबाट ।'
उनले फ्यानसँग हात मिलाउँदै फिल्मको विषयमा जानकारी दिए । कन्सर्टमा उपस्थिति दर्शकलाई उनले हस्ताक्षर गरेर फिल्मको नाम अंकित टिसर्ट र गुलाबको फूल बाँढे । टिसर्ट र फूल समात्न दर्शकबीच ठूलै घम्साघम्सी भएको थियो ।
 (5).jpg)
युवतीहरुले भने एकोहोरो रुपमा 'प्रदीप प्रदीप' भन्दै हटिङ गरेका थिए । अब इटहरी, धरान, दमक, बिर्तामोड र राजधानीमा फिल्मको प्रमोसनल कन्सर्ट हुनेछ ।
नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् । 'रोज' ले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ ।

