गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नू ल-५’ ले हलमा आफ्नो वर्चश्व कायमै राखिरहेको अवस्थामा 'प्रेमगीत' निर्माता सन्तोष सेन द्वारा निर्मित फिल्म ‘मेरी मामु’ ले शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ ।
दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको ‘नाइँ नभन्नू ल-५’ हेर्ने दर्शक विस्तारै बढिरहेका छन् । 'वर्ड अफ माउथ' बलियो भएका कारण दोस्रो हप्तामा पनि यो फिल्मले सुनाउन लायक कलेक्सन अंक जोड्न सक्ने फिल्मी पण्डितहरुको आँकलन छ ।
यस्तोमा ‘मेरी मामु’ ले आफ्नो तर्फ हलमा दर्शक तान्न राम्रै कसरत गर्नुपर्ने देखिन्छ । मोफसल प्रचार आक्रामक भएकाले यस फिल्मको इनिसियल व्यापार सुखद हुनसक्ने विश्वास निर्माण टिमलाई छ । निर्माताले फिल्मको प्रचारका लागि ३० लाख बढी खर्च गरेका छन् ।
निर्माता सेनले आफ्नो जन्मदिनको छेको पारेर उक्त फिल्म प्रदर्शनमा ल्याएका हुन् । यस फिल्मबाट उनका ६ वर्षे छोरा आयुव सेनले डेब्यु गरेका छन् । बाल मनोविज्ञानमा आधारित यस फिल्मले आमा र छोरा वीचको दूरी र आत्मीयताको कथा वाचन गरेको छ ।
‘मेरी मामु’ मा कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । यम थापाले फिल्मको निर्देशन गरेका हुन् । कथा पनि उनकै हो ।
मल्टिप्लेक्समा ‘मेरी मामु’
फिल्म ‘मेरी मामु’ मा नाम चलेका कोही कलाकार छैनन् । लिड रोलमा रहेका बाल कलाकार आयुवको यो डेब्यु फिल्म हो । अभिनेता सारुकले यसअघि 'रानी' फिल्म गरेपनि त्यसले उनलाई अभिनेताको रुपमा चिनाउन मद्दत गरेन ।
अश्लेषा 'प्रेमगीत २' की अभिनेत्री हुन् । यो फिल्मले उनलाई धेरथोर परिचित गराएपनि उनले हलसम्म दर्शक तान्न सक्ने क्रेज बनाइसकेकी छैनन् । सुन्दरताका कारण चर्चामा रहेकी अभिनेत्री कुसुमको यो डेब्यु फिल्म हो ।

यसकारण फिल्मको इनिसियल व्यापारमा आक्रामक प्रचारको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ । यो फिल्मलाई नेपालकै सर्वाधिक ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले शुक्रवारलाई ९ शोज बाँडेको छ । यो स्टार कलाकारको फिल्मले पाउने शोज हो ।
शनिवारका लागि १३ शोज पाएको उक्त फिल्मलाई विग मुभिजमा ३ शोज, विएसआर मुभिजले ४ शोज, एफक्यूबले २ शोज, सिने डि चिफले ३ शोज उपलब्ध गराएको छ ।
विना स्टारको फिल्मलाई मल्टिप्लेक्सले यो संख्यामा शोज बाँड्नुलाई सुखद मान्न सकिन्छ । ‘मेरी मामु’ ले ६० बढी सिंगल थिएटरमा आफ्नो उपस्थिति जनाएको बताइएको छ ।

