भर्सटायल अभिनेता विपिन कार्की (भष्मे डन) अब लेखक बन्ने भएका छन् । रंगमञ्चदेखि फिल्ममा संघर्ष गर्दाका क्षण र आफूले निर्वाहा गरेका चरित्रमा केन्द्रित रहेर उनी स्वयमले पुस्तक लेख्न लागेका हुन् ।
२०७६ भित्र पुस्तक बजारमा ल्याउने विपिनको तयारी छ । उनी द्वारा लिखित पुस्तक बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने जिम्मा लिएको छ । केही दिन अगाडि मात्र विपिन र बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काबीच कागजी सम्झौता भएको छ ।
विपिनले आफू बायोग्राफी लेख्न नलागेको स्पष्ट पारे । 'म साहित्यको विद्यार्थी हुँ र प्रायः केही कुराहरु लेखिरहेको हुन्छ । भुपेन्द्र जीले मैले नाटक र फिल्ममा निर्वाहा गरेको चरित्रको बारेमा सुनेपछि पुस्तक लेख्न आग्रह गर्नुभयो । उहाँको आग्रह स्विकार गर्दै पुस्तक लेख्ने प्रयास गर्न लागेको हुँ', विपिनले भने ।
(1).jpg)
उनले आफूले जीवनमा भोगेका कुराहरु पनि धेरथोर पुस्तकमा समेट्ने बताए । 'विशेषतः रंगमञ्च र फिल्ममा मैले क्यारेक्टर बनाउनका लागि गरेको संघर्षलाई रोमाञ्चक रुपमा प्रस्तुत गर्ने सोच हो' उनले भने, 'पुस्तक लेख्न सुरु गरिसकेको छैन । 'गोपी' र 'जात्रै जात्रा' पछि लेख्न सुरु गर्नेछु ।'
रंगमञ्च र फिल्मसँगै जीवनका विभिन्न खालखण्डलाई पुस्तकमा विभिन्न शिर्षक दिएर कथा लेख्ने सोच उनको छ । 'केही महत्वपूर्ण खाकाहरु डायरीमा टिपेर राखेको छु । अब पुस्तक चाहिँ 'जात्रै जात्रा' गरेपछि केही समय ब्रेक लिएर लेख्न सुरु गर्नेछु', विपिन सुनाउँछन् ।
पुस्तकको नाम अहिले तय गरिएको छैन । थिएटर हुँदै फिल्म 'छड्के' बाट नेपाली रजतपटमा डेब्यु गरेका विपिनको 'जात्रा', 'पशुपतिप्रसाद', 'हरि', 'नाका' लगायतका फिल्म सम्झनायोग्य छन् । नेपालमा उनी सफल अभिनेतामा पनि पर्छन् ।

