Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने

फिल्मीखबर, काठमाण्डौ, 2018/08/29
सुपरहिट सिरिज ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला पनि निर्माण हुने भएको छ । ‘नाइँ नभन्नू ल-५’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहँदा निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज वर्ष २०७६ मा लिएर आउने घोषणा गरेका छन् । 
 
निर्देशक आचार्य ‘छक्का पञ्जा-२’ मा जोडिएका कारण ‘नाइँ नभन्नू ल-५’ आउन दुई वर्ष लागेको थियो । उनले अब छैटौं सिरिजको स्क्रिप्ट लेखनमा लाग्ने बताए । यसमा बाल कलाकार अनुभव रेग्मी दोहोरिने कन्फर्म भएपनि अन्य कलाकारको टुंगो लागेको छैन । 
 
 
निर्देशक आचार्यले यो बाहेक अरु नाममा फिल्म बनाउन नसकेको आलोचना खेपिरहेका छन् । तर, उनी यो सिरिजलाई धेरै लम्ब्याउने सोचमा भने छैनन् । अब केही सिरिज बनाएपछि रिमेक बनाएर यो नामको फिल्म बन्द गर्ने तयारी उनको छ । 
 
फिल्मको रिमेकमा अनुभव हिरो हुनेछन् अर्थात् जीवन लुईटेलको भूमिका उनले निर्वाहा गर्नेछन् । यसका लागि भने अझै केही वर्ष कुर्नु पर्नेछ । निर्देशक आचार्य ‘नाइँ नभन्नू ल-६’ लगत्तै अन्य नामका दुई फिल्म पनि बनाउँदैछ । 
 
‘हजार जूनीसम्म’ र ‘नीरन्जना’ उनले निर्देशन गर्न लागेका फिल्म हुन् । ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला रिलिजपछि घोषित दुई फिल्मको काम अगाडि बढाउने उनले बताए ।  ‘म हतारमा फिल्म लिएर आउँदिनँ । हरेक वर्ष एक मात्र फिल्म लिएर आउँछु’, उनले भने । 
 
कस्तो चल्यो ‘नाइँ नभन्नू ल-५’ ? 
 
शुक्रवारबाट प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल-५’ ले अहिले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । तीन दिने विकेन्ड कलेक्सनमा २ करोड ग्रस कलेक्सन गरेको फिल्मको व्यापारमा तारन्तारको सार्वजनिक विदाले ठूलो सास भरेको छ । 
 
शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार दोब्बरले वृद्धि भएको थियो । आइतवार र सोमवार परेको विदामा पनि फिल्मको व्यापार आक्रामक रहेको वितरकको दाबी छ । मंगलवारबाट कस्तो छ ?
 
 
निर्देशक विकासराज आचार्य भन्छन्, 'हाउसफुल छैन । तर, दर्शकको उपस्थिति राम्रो छ । वर्ड अफ माउथ बलियो भएका कारण दर्शकको संख्या विस्तारै बढ्दै गएको छ ।' १ करोड ३५ लाखमा निर्माण भएको यो फिल्म दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्न सक्ने प्रवल सम्भावना छ । 
 
बिमस्टेक सम्मेलनका कारण बुधवारदेखि राजधानी चकमन्न जस्तै छ । सवारी साधनमा जोर-विजोर प्रणाली लागू भएको छ । प्रायः विद्यालयहरु विदा भएका छन् । यो अवस्था शुक्रवारसम्म रहनेछ । 
 
निर्देशक विकाराज आचार्य बिमस्टेक सम्मेलनले ‘नाइँ नभन्नू ल-५’ लाई फाइदा गर्नेमा विश्वस्त सुनिन्छन् । उनी भन्छन्, 'बिहीवार र शुक्रवार चाहिँ धेरै फाइदा होला । बुधवार त अझै धेरै विद्यालय र कार्यालयहरु खुलेका छन् ।' 
Most Visited News (monthly)