Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सोलो हिरोइनमा चलिन् आँचल ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/28
अभिनेत्री आँचल शर्मा अब युवा पुस्तामाझ अपरिचित अनुहार होइन । अभिनेता पल शाहसँग नाम जोडिएका कारण पनि उनी बढीजसो चर्चामा रहने गरेकी छन् । 'नाईं नभन्नू ल ४', 'जोनी जेन्टलम्यान' हुँदै 'शत्रु गते' सम्म यी दुईले जोडी भएर काम गरेका थिए । 
 
पहिलो पटक आँचलले पलको छायाँ समेत नपरेको फिल्म 'ब्ल्याक' मा काम गरिन् । यसमा उनको जोडी अभिनेता आकाश श्रेष्ठसँग बाँधिएको थियो । गएको हप्ता यो फिल्म प्रदर्शनमा आएको हो । 
 
एकसाथ चार फिल्म जुध्दा यो फिल्मले घरेलू बजारमा सुनाउन लायक कलेक्सन अंक जोड्न सकेन । अर्थात्, 'ब्ल्याक' बक्सअफिसमा असफल ठहरिएको छ । एकातिर लगानी सुरक्षित गर्न नसक्नुको छट्पटिले निर्माताको भोकनिन्द्रा उड्दा अर्कोतिर अभिनेत्री आँचलमाथि अनेकन प्रश्न उठेका छन् । 
 
सो फिल्मको एक कार्यक्रममा उनले अब हुलमुलका फिल्म नगर्ने उद्घोष गरेकी थिइन् । फिल्म 'शत्रु गते' मा अभिनय गरेर आफूलाई कुनै फाइदा नभएको र चर्चित कलाकारहरुको अभिनय रहेका कारण आफू छायाँमा परेको उनको तर्क थियो । 
 
 
रोचक कुरा त उनी अभिनीत हुलमुलका दुई फिल्म 'नाईं नभन्नू ल ४' र 'शत्रु गते' हिट साबित भए भने दर्शकले पनि उनलाई राम्रै नोटिस गरे । तर, सोलो भूमिका रहेका दुई फिल्म 'जोनी जेन्टलम्यान' र 'ब्ल्याक' ले न बक्सअफिसमा कमाल गरे न त दर्शकले नै उनको मुक्तकण्ठले प्रशंसा गरे । 
 
२ घण्टा अवधिको फिल्म 'ब्ल्याक' मा आँचलमाथि हाबी हुने कोही कलाकार थिएनन् । उनकै वरिपरि फिल्म घुमेको थियो । तर, भयो के ? समिक्षकको प्रशंसा त टाढाको कुरा उनले आफ्ना 'डाईहार्ट' फ्यानलाई समेत खुसी बनाउन सकिनन् । 
 
अभिनेत्री प्रियंका कार्कीले आँचललाई लक्षित गर्दै भनेकी थिइन्, '५० जना कलाकार भएपनि अभिनय राम्रो भए कोही कसैको कारणले ओझेलमा पर्दैन । र, अभिनय कमजोर भए फिल्मभरी आफू मात्र भएपनि केही फरक पर्दैन ।' अब आँचलले यो कुरा महशुस गर्न आवश्यक देखिन्छ । 
 
उनमा आफ्नो नामले नै फिल्म चल्छ भन्ने आत्मविश्वासले जरा गाडेको छ । हुलमुलका फिल्म गर्दा 'हातमा लाग्यो शून्य' बताउने उनले अब सोलो हिरोइनमा चल्न नसक्नुको जस आत्मसात् गर्न सक्लिन् ? वा, कुनै नयाँ बहाना पाक्दैछ ? 
Most Visited News (monthly)