गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि दर्शकमाझ सुपरस्टार अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ । शनिवार सार्वजनिक भएको फिल्मको पोस्टरले फिल्मप्रति झनै कौतुहलता बढाएको छ ।
यो फिल्ममा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म 'क्याप्टेन' ले बोल्नेछ ।
दीवाकर भट्टराई निर्देशित फिल्मको निर्माण भुवन केसीले गरेका छन् । पोस्टर सार्वजनिक भएपनि निर्माण टिमले फिल्मको प्रदर्शन मिति अझै घोषणा गरेको छैन । अहिले उक्त फिल्म कात्तिक १६ मा आउने चर्चा छ ।

सो मितिमा ‘क्याप्टेन’ आउने सम्भावना प्रवल रहेको निर्माता केसीले फिल्मीखबरसँगको कुराकानीमा बताए । उनले भने, 'अहिले नै कन्फर्म चाहिँ भएको छैन । चाँडै हामी एक गीत रिलिज गर्दैछौं र, फिल्मको रिलिज डेट घोषणा गर्नेछौं ।'
वितरक मनोज राठीले फिल्मको रिलिज डेटको विषयमा बोल्न चाहेनन् । उनले केही दिनमा सार्वजनिक गरिने गीतमा रिलिज डेट राखिने बताए । मंगलवारबाट ‘क्याप्टेन’ को सम्पूर्ण छायांकन सकिँदैछ ।
यस फिल्ममा अभिनेता अनमोलले दुई नव-अभिनेत्रीसँग स्झिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।
स्मरण रहोस्, ‘क्याप्टेन’ प्रदर्शनमा आउने चर्चामा रहेको कात्तिक १६ गते प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म 'चंगाचेट' आउने कन्फर्म भइसकेको छ । यसको एक हप्तापछि अभिनेत्री रेखा थापाको 'मालिका' प्रदर्शनमा आउँदैछ ।

