संख्या बढ्दै गएपनि हिट फिल्मको मामलामा 'अनलक्की' नायिका हुन् बर्षा सिवाकोटी । 'नाईं नभन्नू ल २' बाट अभिनय यात्राको मुहूर्त गरेकी उनको खातामा असफल फिल्मको संख्या बढी छ ।
अभिनयमा अब्बल मानिने उनको पछिल्लो पटक फिल्म 'पशुपतिप्रसाद' ले बक्सअफिसमा राम्रो कलेक्सन गरेको थियो । तर, यो फिल्म सफल हुनुले उनको करियरलाई खासै ठूलो फरक पारेन ।
सफलताको सबै श्रेय अभिनेता खगेन्द्र लामिछानेले आफ्नो पोल्टामा पार्दा उनी 'हिस्स बुढी खिस्स दाँत' झैं भईन् । बर्षा अभिनीत पछिल्ला फिल्म 'सुब्बा साब', 'कारखाना', 'लप्पन छप्पन' र 'भैरे' बक्सअफिसमा नराम्रोसँग डुबे ।
गएको हप्ता प्रदर्शनमा आएको फिल्म 'जय शम्भु' पनि बक्सअफिसमा पत्तासाफ भयो । एउटा मामलामा भने बर्षा 'लक्की' छिन् । फिल्मले व्यापार जस्तै गरेपनि उनको हातमा फिल्मको कमी छैन । कुनै न कुनै फिल्ममा उनी ज्वाइन भइरहेकी हुन्छिन् ।
पछिल्लो समय भने साइन गरिसकेको फिल्म छाड्ने बानीले उनलाई आलोचित बनाएको छ । अचेल उनलाई साइन गरिसकेको फिल्म छाड्ने अभिनेत्रीको 'क्विन' भन्न थालिएको छ । बर्षाले फिल्म छाड्ने शिलशिलाको सुरुवात फिल्म 'मेरो पैसा खोई ?' बाट भएको थियो ।
(1)(1).jpg)
अभिनेत्री बर्षा राउत ज्वाइन भए लगत्तै उनले फिल्मबाट हात झिकेकी थिइन् । यसपछि फिल्म 'रानी महल' छाडिन् । फ्लोरमा निस्किने बेला फिल्म छाडेपछि उनको ठाउँमा पूर्व मिस नेपाल निकिता चन्दक भित्रिइन् ।
उनले फिल्म छाड्ने शिलशिला तेस्रो पटक पनि दोहोरियो । हालै उनले फिल्म 'गोपी' छाडिन् । कति अभिनेत्रीहरु फिल्म नपाएर घरमा सिरियल हेरेर बस्नु परेको छ । बर्षा भने फिल्म छाड्ने अभिनेत्रीको लिस्टमा सबैभन्दा अगाडि छिन् ।
कुनै फ्लोरमा जान ढिलाई भएको त कुनैमा भूमिका चित्त नबुझेको भन्दै उनले साइन गरिसकेको फिल्म छाडेकी छन् । उनको यो बानीबाट धेरैले हैरानी खेपेका छन् । अहिले उनमा व्यावसायिकता नदेखिएको आरोप लाग्न थालेको छ ।
अब बर्षालाई फिल्ममा लिनु अगाडि निर्माता/निर्देशकले समेत एकपटक सोच्नु पर्ने अवस्था आएको छ । यो एक कलाकारको करियरका लागि सुखद पक्कै होइन । यही शैली पछ्याउने हो भने ढिलोचाँडो उनको नाम लिनसाथ फिल्ममेकरले बाटो मोड्ने अवस्था नआउला भन्न सकिन्न ।
स्क्रिप्ट र भूमिकाको बारे एउटा कलाकारले फिल्म साइन गर्नुभन्दा अगाडि सोच्नु पर्छ । साइन गरिसकेपछि विभिन्न बाहना बनाएर अलगिनु कलाकारको धर्म होइन ।
कतै उनी लगातार फिल्म छाडेर आफूलाई डिमाण्डेड अभिनेत्री देखाउन त खोजिरहेकी छैनन् ? वा, फिल्मको लस्कर देखेर उनमा घमण्ड सुरु भएको होइन ? आशा गरौं, अब बर्षाले आफ्नो बचपना त्याग्ने छिन् ।

