अभिनेता प्रदीप खड्कामा विदेशप्रेम किन यति विघ्न ? अहिले पत्रकारले हरेक भेटमा उनीमाथि तेर्साउने पहिलो प्रश्न हो यो । उनी अभिनीत एकपछि अर्को फिल्मको सुटिङ विदेशमा बढी जो भइरहेको छ ।
'प्रेमगीत २', 'लिलिबिली' हुँदै यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोज' मा समावेश 'फूल हैन...' गीत विदेशी भूमिमा खिचिएको हो । उनको प्रमुख भूमिका रहने घोषणा भइसकेको फिल्म 'लभ स्टेशन' पनि विदेशमा खिचिँदैछ ।
उनकै दबाबमा फिल्मको सुटिङ गर्न निर्माण टिमलाई विदेश जानु पर्ने बाध्यता रहेको सिनेवृतमा चर्चा छ । उनी भने लोकेसन मनमोहक भए दर्शकलाई हलसम्म तान्न सजिलो हुने तर्क पेश गर्छन् । अहिले उनीमाथि 'नजिकको तिर्थ हेला' गरेको आरोप पनि छ ।
बिहीवार फिल्म 'रोज' को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्मको छायांकन विदेशमा गर्न आफूले इच्छा देखाउनुको कारण बेलिविस्तार सुनाए । कम बजेटमा आँखालाई शित्तल हुने दृश्य कैद गर्न पाइने हुँदा विदेशमा सुटिङ गर्न आफूले 'फोर्स' गर्ने गरेको उनले खुलाए ।
 (1).jpg)
प्रदीपको यो कुरा आफैंमा राम्रो सुनिन्न । के आँखालाई शित्तल पार्ने लोकेसन नेपालमा दुर्लभ भएका हुन् ? अब नेपालमा फिल्म खिच्नु विदेशभन्दा महंगो भएको हो ? उनलाई आफ्नै बोलीले प्रश्नको कठघरामा उभ्याएको छ ।
विदेशी फिल्ममेकर आकर्षक लोकेसन कैद गर्न नेपाल धाउँछन् । प्रदीप भने नेपालमा खिच्न लायक लोकेसन नै नभएको र बजेट बढी लाग्ने आशय व्यक्त गर्छन् । कतै विदेशमा खिचिएका फिल्म मात्र राम्रा हुन्छन् र दर्शकले रुचाउँछन् भन्ने भ्रम त होइन उनमा ?
सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म 'छक्का पञ्जा' नेपालमै खिचिएको हो । 'ड्रिम्स', 'म यस्तो गीत गाउँछु', 'ए मेरो हजुर २', 'शत्रु गते' जस्ता बक्सअफिसमा सुपरहिट फिल्म पनि विदेशमा खिचिएका होइनन् ।
विदेशमा फिल्म खिच्नु पाप होइन । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यसले धेरै हदसम्म सहयोग गर्छ । तर, विदेशको सौन्दर्य देखाए मात्र दर्शकलाई हलसम्म तान्न सकिन्छ भन्ने सोच पनि त सान्दर्भिक नहोला । प्रदीपले बुझ्न आवश्यक छ फिल्म आकर्षक लोकेसनले होइन कन्टेन्टले चल्छ ।

