अहिलेका 'हटकेक' हुन् अभिनेता प्रदीप खड्का । 'प्रेमगीत' पछि नसोचेको सफलताको पथमा दौडिरहेका उनको दिनप्रतिदिन चाम बढ्दो छ । उनलाई फिल्ममा लिन अहिले दर्जनौं निर्माता/ निर्देशक लाइनमा छन् ।
प्रदीपलाई लिएपछि लगानी सुरक्षित हुन मुश्किल नहुने सोचाई उनीहरुमा छ । यसैले त जतिजति डिमाण्ड चर्किदो छ उतिक्कै उनी महंगा पनि बन्दै गएका छन् । अहिले प्रदीपलाई एक फिल्मबापत ५० लाखसम्म अफर हुने गरेको चर्चा छ ।
पछिल्लो रिलिज फिल्म 'लिलिबिली' पछि उनको नयाँ फिल्म 'रोज' यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ । बिहीवार यस फिल्मको ट्रेलर रिलिज भएको छ । 'फूल हैन...' गीतका कारण फिल्मको हाइप चुलिँदै गर्दा ट्रेलरले फिल्मप्रति झनै कौतुहलता सृजना गरेको छ ।
रोमान्टिक अवतारदेखि ट्रेलरमा प्रेमिकामाथि गोली प्रहार गरेकोसम्म दृश्यले फिल्मलाई थप प्रतिक्षीत बनाएको छ । यसमा उनको अपोजिटमा अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगर छन् । फिल्मका निर्देशक नीरक पौडेल हुन् ।
अभिनेता प्रदीप खड्का बारे एउटा रोचक तथ्य धेरैलाई अवगत छ । उनका पछिल्ला फिल्मको सुटिङ नेपालमा कम विदेशमा बढी हुने गरेका छन् । 'प्रेमगीत २' बाट सुरु भएको विदेश छायांकनको यात्रा प्रदर्शनको तरखरमा रहेको फिल्म 'रोज' ले पनि ब्रेक गर्न सकेन ।
(1).jpg)
'प्रेमगीत २' को अधिकांश छायांकन नेपालभन्दा बढी थाइल्याण्ड र बर्मामा भएको थियो । यस फिल्मको 'कहानी यो प्रेमगीतको...' गीतको लोकेशनको खुब वाहवाही भएको थियो । 'लिलिबिली' को त अधिकांश छायांकन नै लण्डनमा गरिएको थियो ।
तेस्रो पटक पनि प्रदीपको फिल्मले विदेश घुम्न छाडेन । फिल्म 'रोज' को 'फूल हैन...' गीत टर्कीमा खिचिएको हो । उनकै दबाबमा यो गीत खिच्न निर्माण टिम विदेश पुग्नु परेको खबर छ । चौँथो पटक पनि प्रदीपको फिल्मको छायांकन विदेशमा हुँदैछ ।
हाल अन्डर प्रोडक्सनको काम भइरहेको फिल्म 'लभ स्टेशन' को अधिकांश छायांकन अमेरिकासहित विभिन्न देशमा हुने निर्माण टिमले बताएको छ । एकपछि अर्को फिल्मको छायांकन विदेशमा हुनु कथाको माग नभएर निर्माण टिममाथि प्रदीपको दबाब हुने गरेको चर्चा छ ।
बिहीवार फिल्म 'रोज' को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले यस विषयमा पत्रकारमाझ मुख खोलेका छन् । आँखालाई शित्तलता प्रदान गर्न विदेशमा फिल्मको दृश्य खिच्न आफूले 'फोर्स' गर्ने गरेको उनको तर्क छ ।
उनी भन्छन्, 'झिलिक्क बनाउँदा दर्शकलाई हलसम्म तान्न सकिन्छ भने किन नगर्ने ? एकसमय बलिउडमा पनि यो ट्रेन्ड थियो ।' नेपालमा महंगो सेट लगाएर खिच्नु भन्दा कम बजेटमा लोभलाग्दा दृश्यहरु कैद गर्न सकिने भएकाले विदेशमा फिल्मको छायांकन गर्न आफूले इच्छा देखाउने गरेको उनको भनाई छ ।
प्रदीपले ठ्ट्यौली शैलीमा भने, 'रोज' को गीत भने एक्स्ट्रा बजेट भएर विदेशमा खिचिएको हो ।' '९/१० वर्षपछि आँखाले नभएर जब दर्शकलाई दिमागले फिल्म गर्ने बानी बस्छ तब कन्टेन्ट बेस फिल्म दिनुपर्ला भन्ने लागेर अहिले मैले विदेश छायांकनका लागि फोर्स गर्छु', प्रदीपले भने ।
घुमाउरो शैलीमा उनी आफूले अहिले कन्टेन्ट बेस नभएर आँखालाई शित्तल हुने फिल्म दिइरहेको स्विकार गर्छन् । 'किन अहिले सलमान-आमिर खानले 'सुल्तान-दंगल' जस्ता फिल्म बनाइरहेका छन् त ? किन १०/१५ वर्ष अगाडि बनाएनन् ?' उनी भन्छन्, 'दर्शकलाई जहिले जुन कुराबाट हलसम्म तान्न सकिन्छ त्यही गर्ने हो ।'

