युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोज’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीवार काठमाण्डौमा पत्रकारहरुलाई देखाएपछि यो फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।

‘फूल होइन...’ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । कलरफूल ट्रेलरमार्फत् फिल्मको मुल कथा प्रष्ट्याउन खोजिएको छ ।
ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै खुराक छ । अभिनेता खड्कालाई रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ । एक सिक्वेन्समा उनले आफ्नै प्रेमिका परमिता आरएल राणामाथि गोली चलाएका छन् ।

प्रदीपलाई प्रेमिकाको हत्या अभियोगमा अदालतको कठघरादेखि जेल जीवन विताइरहेको देखिन्छ भने उनलाई छुटाउन अभिनेत्री मिरुना मगर वकिल बनेर अदालतमा बहस गरिरहेकी छन् । ट्रेलरमा मिरुना र प्रदीपको रोमान्टिक सिन पनि राखिएको छ । अभिनेता कर्मा शाक्य भने डिएसपीको भूमिकामा छन् ।
एकैखाले भूमिकामा रमाइरहेको आरोप खेपिरहेको अवस्थामा प्रदीपलाई ‘रोज’ ले 'भर्सटायल' बनाउन सहयोग गर्ने देखिन्छ । लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका उनले पहिलो पटक क्राइम थ्रिलर जनरा रोजेका हुन् ।
.jpg)
उनले यस फिल्ममा लुक्स परिवर्तनमा निकै गरेको मिहिनेत छन् । 'लिलिबिली' पछि पर्दामा फर्किएका प्रदीपको यो फिल्म 'रोजी' बाट नाम परिवर्तन भएर ‘रोज’ भएको हो । नेपालमा क्राइम थ्रिलर जनराका फिल्म नचलिरहेको अवस्थामा यस फिल्मले भने सम्भावना देखाएको छ ।
ट्रेलरले फिल्मप्रतिको उत्सकुता निकै बढाएको छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको नीरक पौडेल निर्देशित उक्त फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ ।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ ।

उद्धव पौडेल यसका प्रस्तुतकर्ता हुन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ लाई राजु विक्रम थापाले खिचेका हुन् ।
केदार भुषालको कथामा तयार भएको फिल्मको सम्पादनको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । अर्जुन पोखरेलको संगीत रहेको ‘रोज’ मा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ ।
ट्रेलर हेर्नुहोस् :-

